महासंघको समस्या समाधान गर्न समिति

4 years ago Editor 0

झापा ।

छलफलका सहभागीहरु आ–आफ्नो धारणा राख्दै
छलफलका सहभागीहरु आ–आफ्नो धारणा राख्दै

झापाको दमकस्थित नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गठनमा देखिएको विवाद समाधानका लागि सहजीकरण गर्न दमक क्षेत्रका आदिवासी जनजाति अगुवाहरुको भेलाले बिहीबार सहजीकरण समिति गठन गरेको छ ।
महासंघका संस्थापक अध्यक्ष धिरेन सुब्बा लावतीको संयोजकत्वमा सम्पन्न भेलाले विवाद समाधानका लागि सहजीकरण गर्न घनेन्द्र सुब्बाको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यहरुमा गणेशमान धिमाल, मचिन्द्र याक्खा, दिलबहादुर इङ्नाम, कमल श्रेष्ठ, लघुदास राई, सुरेश सुब्बा, लोकबहादुर धिमाल, टेकबहादुर आङ्देम्बे, लीला थापा मगर, कृष्णबहादुर गोले, शान्ता पालुङ्वा र ओममाया आङ्देम्बे रहेका छन् ।
गत चैत्र २२ गते झापाको दमकमा सम्पन्न महासंघको दोस्रो नगर अधिवेशनले वासुदेव राई नेतृत्वको समिति गठन गरेको थियो भने निवर्तमान अध्यक्ष मोहन धिमालले बेग्लै समूह बनाई अधिवशेन सम्पन्न भएको १४ दिनपछि अर्को नगर समिति गठन गरेको जनाएको थियो ।
विवाद समाधानका लागि नवगठित समितिले महासंघ नगरको विवाद समाधानका लागि हाल अस्तित्वमा रहेका वासुदेव राई नेतृत्वको समिति र मोहन धिमाल नेतृत्वको समिति दुवैलाई डाकेर समस्या समाधानका लागि सहजीकरण गर्ने जनाएको छ ।
साथै महासंघ जिल्ला समन्वय परिषद् झापाको आयोजनामा जिल्लाभरबाट दमकस्थित रेडक्रस भवन केन्द्रीत गरेर २० औं विश्व आदिवासी दिवस कार्यक्रम मनाउन लागेकोले सो कायक्रमलाई सम्पन्न गर्न समेत उक्त समितिले सहजीकरण गर्ने जनाएको छ ।
बिहीबार सो विवाद बारे समाधान निकाल्न आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाका अध्यक्ष पारसमणि राई, किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष टेकबहादुर आङ्देम्बे, दमक नगरपालिकाका पूर्व मेयर लोकबहादुर धिमाल, आदिवासी जनजाति युवा महासंघ झापाका अध्यक्ष दीपक धिमाल, याक्खा छुम्माका झापा जिल्ला सचिव मचिन्द्र याक्खा, किरात राई यायोक्खाका झापा जिल्ला अध्यक्ष इन्द्रमान चाम्लिङ राई लगायत ४० जना भन्दा बढी विभिन्न राजनीतिक दलसम्बद्ध अगुवाहरु, जातीय संस्थाका अगुवाहरु लागायतको सहभागिता रहेको थियो ।