अधिकारका लागि युवा आन्दोलित हुनु पर्ने

4 years ago Editor 0

दमक ।

नवगठित समितिलाई शपथ गराउँदै युवा महासंहका केन्द्रीय उपाध्यक्ष रामकुमार राई ।
नवगठित समितिलाई शपथ गराउँदै युवा महासंहका केन्द्रीय उपाध्यक्ष रामकुमार राई ।

आदिवासी जानजाति युवा महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष रामकुमार राईले आगामी बन्ने संविधानमा आदिवासी जनजाति, युवा लगायत उत्पीडित समुदायका अधिकार समेट्नलाई युवा वर्गले आन्दोलित हुनुपर्ने बताएका छन् ।
बुधबार झापाको दमकमा आयोजित आदिवासी जनजाति युवा महासंघ झापा जिल्ला कार्य समितिको विशेष भेला तथा पुनर्गठन कार्यक्रममा बोल्दै उपाध्यक्ष राईले सो बताएका हुन् ।
‘आदिवासी जनजातिको अगुवाई गर्ने संस्थाका नेतृत्वहरु विभिन्न प्रलोभनमा परेर पहिचानको मुद्दा ओझेलमा पर्न सक्ने खतरा छ’, उनले भने –‘त्यसैले हामी आदिवासी जानजाति युवाहरुले राजनीतिक किसिमले पनि तयारी हुन जरुरी छ । खबरदारी गर्न आवश्यक छ ।’
उक्त भेलाले दिपक धिमालको अध्यक्षतामा हालका लागि ९ सदस्यीय समिति गठन गरेको छ । समितिका उपाध्यक्षमा रोहित भूजेल, सचिवमा अभिषेक माबो (लिम्बू), सह–सचिवमा गणेशनारायण चौधरी, कोषाध्यक्षमा अतीत बान्तावा राई र सह–कोषाध्यक्षमा निकी मेचे चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा चन्द्रा ताजपुरिया, अतिनलाल राजवंशी, सञ्जय थामी रहेका छन् । अन्य सदस्य आगामी बैठकले थप गर्ने जनाइएको छ ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पारसमणि राई, युवा महासंघका केन्द्रीय सदस्य तथा मेची संयोजक राजकुमार राई, महासंघका कोषाध्यक्ष बालकुमार भूजेल, भूजेल समाज सेवा समितिका झापा उपाध्यक्ष याम भूजेल लगायतले बोलेका थिए ।
युवा महासंघ झापाका उपाध्यक्ष वीरेन मेचेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमन देवानको सञ्चालन रहेको थियो ।