आदिवासी राजवंशीहरु हुक्काहुक्कीमा मस्त

5 years ago Editor 0

हुक्काहुक्की खेलमा मस्त आदिवासी राजवंशी समुदायका मानिसहरु
हुक्काहुक्की खेलमा मस्त आदिवासी राजवंशी समुदायका मानिसहरु
३ नोभेम्बर

नेपाल, झापा

दिपावलीको लक्ष्मी पूजाको दिन पूर्वी नेपालमा बसोबार गर्ने आदिवासी राजवंशी समुदायले खेल्ने हुकाहुकी खेल झापा र मोरङका राजवंशी जातिले आइतबार हर्षोल्लासपूर्वक खेलेर मनाएका छन् ।
यसैक्रममा राजवंशी समाज विकाश समिति जुरोपानी झापाले आइतबार झापाको ग्वालडुब्बा बजारमा सांस्कृतिक कार्यक्रम सहितको हुकाहुकी खेलको आयोजना गरेको थियो । स्थानीय अरुणोदय प्रा.वि.को प्रङ्गणमा सम्पन्न कार्यक्रममा जुरोपानी सहित गौरीगञ्ज, खजुरगाछी, गौरादह, कोरोबारी लगायत विभिन्न गाविसका राजवंशी समुदायकोे उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा राजवंशी समुदायको नटुवा, ढुल्की, हुदुरधुरा लगायतका नृत्य समेत प्रस्तुत गरिएको थियो ।
हुकाहुकी खेल भने साँझमा खेलिएकोे स्थानीय सञ्चारकर्मी आत्मराम राजवंशीले जानकारी दिनुभयो । कार्यक्रममा ताजपुरिया समाज कल्याण परिषद्का केन्द्रीय अध्यक्ष नित्यानन्द ताजपुरिया, आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका केन्द्रिय सदस्य गंगाराम ताजपुरिया, राजवंशी समाज विकास समितिका झापा जिल्ला अध्यक्ष टोम राजबंशी लगायतले बोल्नु भएको थियो ।
राजवंशी समुदायमा मृत्यु भइसकेका पूर्वजहरुलाई लक्ष्मी पूजाको रात हुक्का दिने परम्परा छ । जसअनुसार हुक्काहुक्की खेल्नका लागि अगाडि नै सन्ठीमा गोबर दलेर सुकाइएको हुन्छ । लक्ष्मी पूजाको राति सन्ठीमा आगो सल्काएर दिवंगत भइसकेका पूर्वजहरुको स्मरण गर्दै आकासतर्फ फाल्ने गरिन्छ ।
जीवित रहेका अवस्थामा आफ्ना पूर्वजहरुले हुक्का तान्ने गरेका र मृत्यु भइसकेपछि उनीहरुको स्मृतिमा पिण्ड स्वरुप हुक्का चढाउन यो खेल खेलिने राजवंशी अगुवाहरुको भनाई छ ।