नेपाली मन र नेपाली पनलाई शुभ दिपावली

4 years ago Editor 0

चुनावको चटारो र चुनाव बहिस्कारको आन्दोलनमा होमिएका दलहरुको झटारो दुवैको सामना गर्न नेपालीजनका माझ फूलहरुको र झिलिमिली बत्तिहरुको चाड तिहार प्रवेश गरिसकेको अवस्था छ । यस मानेमा तिहारको अथवा दिपावलीको शुभकामना दिनै पर्ने औपचारिकता सहित सर्वप्रथम समस्त नेपालीहरुका माझमा दिपावलीले सही सोच, विचार, आदर्श, चिन्तन, व्यवहार र तिनको उपयोगद्वारा असल कर्मको निम्ति उत्प्रेणा छर्ने कार्य गरोस् हार्दिक मंगलमय कामना छ ।
हुन त दिपावलीलाई व्याख्या गर्ने विभिन्न धार्मिक र समुदाय विशेषका आ–आफ्नै मान्यता, व्याख्या र पक्षहरु छन् । ती मध्ये पनि दिपावलीलाई यमपञ्चकका रुपमा हिन्दु धर्म दर्शनका आधारमा पाँच दिनसम्म काग, कुकुर, गाई, गोरु र माइतीलाई पुजेर मनाइने प्रचलन अरुभन्दा बढी प्रचलित छ । तथापि दिपावली वा तिहारलाई हिन्दु धर्मावलम्बीका अतिरिक्त अन्य धार्मिक तथा सांस्कृतिक मान्यता बोकेका मानव समुदायले समेत उत्तिकै हार्दिकता र महत्वका साथ मान्ने गरेको पाइन्छ । चाड कसैको पेवा चिज पनि होइन । असल बुझाई यो पनि हो । र महत्वपूर्ण कुरो, परम्परादेखि चलिआएको यो प्रचलनले गर्दा पनि नेपाली जनका निम्ति अरु चाडपर्व भन्दा पनि तिहार वा दिपावली थप महत्व, रौनक र उज्यालो पर्वका रुपमा मानिन्छ । देउसी, भैलो खेल्नेदेखि अन्य विभिन्न किसिमका सांस्कृतिक मनोरञ्जनका गतिविधिहरु समेतले गर्दा तिहारमा सबै उमेर समूहका मानिसहरुका निम्ति उत्साहको पर्व समेत हो भन्दा फरक नपर्ला ।
मानिसका विभिन्न किसिमका तनावहरुलाई व्यवस्थापन गर्ने मनोवैज्ञानिक उपाय मध्येको एक ‘थकाई मार्नु’ पनि हो । आजको दैनिकि चाहेर वा नचाहेर दौडधुप र व्यस्तताले भरिएको छ । मानिसको दैनिक जीवन मेसिनको झैं बनेको छ । रुटिनमा बाँधिएको आजको व्यस्तताले आम मानिसलाई फुर्सदको समयका बारेमा सोच्न समेत नभ्याउने स्थिति सृजना गरेको छ । मानिसले चाहेर पनि आफूलाई कुनै विशेष अवसर वा कारण बाहेक आफ्नो नियमितता भन्दा अरुतिर अलमल गर्ने वा थकाई मार्ने समय उपलब्ध गराउन सक्दैन । यस मानेमा मानिस आफैले सृजना गरेका अवसरहरुका कारण दासी समेत बन्दै गएको भान हुन थालेको छ । तथापि, व्यस्तताका कारण मानिसको जीवनस्तरदेखि चेतनास्तरको विकास लगायत विभिन्न पक्षमा अकल्पनीय लाभ समेत हुने भएकाले व्यस्तता नै मानिसका निम्ति व्युत्पादक हो भनिनु फेरि पनि सम्पूर्ण कारणले ठीक नहुन सक्छ ।
यसर्थ, आम दैनिकी र दौडधुपबाट आज मानिसले पाउने छुटकारा भन्नु नै कुनै विशेष अवसर वा चाडपर्वकै कारण मात्र समभव छ । तिहारले पनि नेपाली समाजमा उत्साह, रौनक, उमङ्ग र हार्दिकता एकैसाथ लिएर आउने गर्दछ । त्यसलाई कसले कति र कसरी उपयोग गर्ने हो ? त्यो प्रत्येक मानिसमा भर पर्दछ । यो फूलहरुको पर्व, झिलिमिली बत्तिको पर्व, चेली र माइतीले वर्षदिनमा एक पटक भेट्ने अवसरको पर्व समेत भएकाले पनि नेपाली समाजमा जति व्यस्तता बढेर गएको छ, तिहार लगायत सामरिक महत्वका चाडपर्वहरुको महत्वमा अरु वृद्धि भएको महसुस हुँदै गएको छ ।
देशको कथा बेग्लै व्याथाले दुख्छ, परदेशी मन घर सम्झेर भत्भती पोलिरहन्छ । तर पनि वाध्यताका परिधिहरु नाघेर नाघिनसक्नु छ । महाकवि देवकोटाले भनेको ‘उडिछुनु चन्द्र एक’ यतिबेला अलिकति पैँचो मिल्ने भए त्यसैको पंखा बनाएर क्षणभरमै भुरुरु उडेर गाउँ आउन र एक फन्को मारेर फर्कन मन लाग्ने नेपाली मनहरुको संख्या गनेर साध्य छैन । विवशताका बीच जीवन र जीवनका निम्ति संघर्षले नोपाली मन र नेपाली पन बोकेका हामीहरु अनेकन आशा र अभिलाषाहरु बोकेर देशान्तर, एक ध्रुवदेखि अर्को ध्रुवमा पुगेका र बाँचेका छौं । जीवन बाँच्नुको पनि फरक महत्व छ । सायद त्यसैले हामी यी महत्वहरु सजाएर अरु महत्वकांक्षी बनेका पनि हौंला ।
तर फेरि पनि आम नेपालीमाझ भित्रिएको तिहारले खुशी, उमङ्ग, उत्साह र हार्दिकता थप्न सकोस्, यो प्रार्थना र कामना छ । हुँदै गरेको चुनाव बिथोलिने खतरा बढेर गएको छ । चुनाव हुनुपर्छ भन्ने र चुनाव गर्न दिन्नौं भन्ने पक्षका बीच तिहार सकरात्मक सम्बन्ध विस्तारका निम्ति सम्बन्ध सेतु बनोस् । यिनै र यस्तै अपेक्षाहरुका साथ अन्तमा देश विदेशमा रहनुहुने सबै नेपाली मन र नेपाली पनका धनीहरुमा शुभ दिपावली ।