चर्च ब्वाइजलाई मणि राई स्मृति गोल्ड कपको उपाधि

4 years ago Editor 0

नोपल, झापा
१ नोबेम्बर

भुटानको फेन्स क्लवलाई पराजित गर्दै काठमाडौंको चर्च ब्वाइज क्लवले झापाको दमकमा संचालित मणी राई स्मृति दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शुक्रबार भएको फाइनल खेलमा भुटानी टोली फेन्स क्लवलाई सडन डेथमा पराजित गर्दै चर्च ब्वाइजले उपाधि हात पारेको हो ।
निक्कै प्रतिष्पर्धात्मक भएको फाइनल भिडन्तमा चर्चब्वाइजले फेन्सलाई ४–३ गोलको अन्तरले पराजित गर्दै ७० हजार रूपैयाँ नगद सहित ट्रफी हात पारेको हो ।
निर्धारित ९० मिनेटको खेलमा गोल रहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका तर्फबाट अजय मार्टिन, रमेश दंगाल र अरूण श्रेष्ठले गरेका थिए भने फेन्सको तर्फबाट रञ्जीत श्रेष्ठ, सचिन्द्र धिमाल र भिक्टरले गोल गरेका थिए । दुवै टिमले ३–३ गोल गरेपछि सडनडेथबाट खेलको निर्णय लिनुपरेको थियो । सडनडेथमा चर्चब्वाइजका लागि ज्ञानी बस्नेतले गोल गरेका थिए ।
चारजना बिदेशी खेलाडी मैदानमा उतारे पनि गोल गर्न नसक्दा भुटानी टोलीले ३५ हजार रूपैयाँ नगद पुरस्कार सहित उपविजेता मात्रै बन्न सफल भयो ।
प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडी भुटानी टोलीका बिशाल राई ‘ए’ घोषित भए भने हाइस्कोरर चर्च ब्वाइजका बिदेशी खेलाडी अजय मार्टिन भए । त्यसैगरी बेस्ट गोल किपर चर्च ब्वाइजका कृष्ण चौधरी घोषित भए ।
खेल समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब युवराज लामा लगायतका अतिथिले बिजेता टिम, उत्कृष्ट खेलाडीहरुलाई नगद तथा ट्रफी प्रदान गरेका थिए ।
कार्यक्रममा चर्चित लोकगायक एलपी जोशीलाई सम्मान समेत गरिएको थियो ।DSC_5517