नेपाली गणतन्त्रका लागि संघीयता

4 years ago Editor 0

कमन देवान

KAMAN 1

नेपाली गणतन्त्रको सात वर्षे यात्रा असामान्य र निरासजनक मात्रै रहेन त्राहिपूर्ण र त्रुटिपूर्ण समेत रह्यो । सार्वभौमसत्ता नेपाली जनतामा निहित रहने कथन सहित २०६५ जेष्ठ १५ गते आजकै दिन संविधानसभाको पहिलो बैठकले दुईतीहाई भन्दा बढी मत र ध्वनी तालीले नेपाली माटोमा गणतन्त्रको उदय वा स्थापना गरेको इतिहास सदैव स्मरणीय रहने छ । तथापि संविधानसभाले गरेको सो निर्णय विरुद्ध केही नगन्य मानिसहरुको झुण्डले गणतन्त्र नेपाललाई पुनः निरंकुश, सामन्तवादको नाइके, परिवारवादी राजतन्त्र र शाह वंशको २४० वर्ष लामो बर्बरतातर्फ फर्काउने कुचेष्टा पनि गरिरहेकै छन् । नेपाली जनताको बलिदानीबाट प्राप्त गणतन्त्रको हत्या गरेर मरेको शाह वंशीय राजतन्त्रलाई व्युँताउन सके आफ्ना दिन फिर्ने थिए भनेर सपना देख्नेहरुको कमी छैन नेपालमा । तर उनीहरुले देखेको सपना नेपाल र नेपाली जनताको पक्षमा कदापि छैन । त्यसो हुँदा ती सपनाहरु पूरा नहुने ठोकुवा गर्दा कति पनि फरक पर्दैन ।
नेपालमा जनताको बलले ल्याइएको गणतन्त्रलाई प्रायोजित भन्नेदेखि नेपाली राजनीतिक इतिहासको पानादेखि मृत घोषित राजतन्त्रलाई जसरी पनि फर्काइ छाड्ने कमल थापाहरुको कमी छैन । उनीहरु धर्म निरपेक्ष यो राष्ट्रमा समावेशीताको थिति स्थापित हुन नदिने पक्षमा मात्रै छैनन् । सहभागितामा आधारित, समानुपातिक आधारमा सेवा सुविधा वितरण गरिनु पर्ने मान्यताको समेत विरोधी बनेका छन् । सिंहदरबारभित्रको संकुचित घेरामा समग्र मुलुकको शासन प्रणलीलाई कैद गरेर बारम्बार अन्याय र शोषणको उदय गर्ने, विभिन्न दरबारका नाउँमा निहत्थाहरुको बलीभोग चलाउने पाखण्डी प्रवृत्तिको निरन्तरता चाहन्छन् उनीहरु । यो देशमा सदियौंदेखि उत्पीडनमा परेका जाति, क्षेत्र, लिङ्ग, समुदाय आदिले कहिल्यै न्यायमा आधारित समानताको उपभोग गरुन् भन्ने पक्षमा छैनन् । त्यति मात्रै नभएर उनीहरु नेपाली जनता नै यो राष्ट्रको एक मात्र स्रोत र शक्ति एवम् मालिक भएको देखि सहन्नन् ।
त्यसैले उनीहरु मरेको र जलिसकेको राजतन्त्रलाई फेरि कुनै न कुनै रुपले जीवित तुल्याउने असफल कोशिसमा छन् । उनीहरुको गणतन्त्रको विरोधी मात्रै होइनन्, घोषित षड्यन्त्रकारी र हत्यारा दुवै हुन् । नेपालको प्रचलित ऐन र कानुनले गणतन्त्र नेपालको राज्य व्यवस्थालाई प्रार्दुभाव गरिसकेको सन्दर्भमा, नेपालको अन्तरिम संविधान २०६३ मा संशोधन भई गणतन्त्र राज्य व्यवस्था कार्यान्वयन भएर राष्ट्र प्रमुखका रुपमा राष्ट्रपति रहने व्यवस्था बमोजिम सो संवैधानिक प्रावधान कार्यान्वयन भइसकेको अवस्था हामी माझ लुक्न सकेको छैन । तर, तिनै कमल थापाहरु गणतन्त्रको विरोध मात्रै होइन, आफूलाई खुल्लेआम गणतन्त्रको हत्यारा र राजतन्त्रको पुनोदय गर्ने हुँकार सहित राजनीतिक दलका नाउँमा आपराधिक गिरोहको सञ्चालन गरिरहेका छन् । गणतन्त्र नेपालको राज्य व्यवस्था, संवैधानिक व्यवस्था लगायतले उनीहरुलाई संविधानको विरुद्ध खुलेआम षड्यन्त्र गर्दा पनि रोक्न सक्दैन । गणतन्त्र नेपालमा क्रियाशील निर्वाचन आयोगले गणतन्त्रलाई उन्मुलन गर्ने लक्ष्य रहेको राजनीतिक दल र त्यसका नेता कमल थापाहरुलाई दल दर्ता गर्न र निर्वाचनमा उम्मेद्वारी दिन रोक लगाउन सक्दैन । गणतन्त्रका खिलाफ खुलेआम षड्यन्त्र गरेर उनीहरु संविधानसभामा चौंथो दलको हैसियतमा पुग्दासम्म नेपालको सर्वोच्च अदालतले गणतन्त्र विरोधी तत्वलाई किन रोक्न सकेन ? विषय सोचनीय छ ।
यस्ता अनेकन विषयहरु छन्, नेपालको राजनीतिक वृत्तमा जसलाई गणतान्त्रिक भनिएको नेपाल राज्यको शासन व्यवस्थाले देखेको, जानेको, बुझेको र चिनेको छ तर पनि कहिल्यै रोक्न सक्दैन । र लाग्छ, गणतन्त्रको निर्मम हत्या हुँदा समेत ती सरोकारवाला निकायहरु तिनै कमल थापाहरुको ताण्डव्यमा मौन सर्मथन नै गरिरहने छन् । यो लेखमा कमल थापाको नाम किटेरै उल्लेख गरिएको छ । तथापि यो एउटा त्यस्तो प्रवृत्तिलाई उनको नामसँग जोडिएको हो, जुन प्रवृत्ति सदैव नेपाल र नेपाली जनताको उन्नति र प्रगतिका पक्षमा थिएन र छैन । कमल थापाले जुन धारको राजनीति गरेका छन्, त्यो एउटा यथास्थितिवादको पक्षपोषक तत्व हो । यस मानेमा नेपाली जनताको अहितमा राजनीति रच्ने कमल थापा त्यो ‘आइकन पर्सन’ हुन् जो यो देशमा नेपाली जनताले जितेको हेर्न चाहदैनन् । कमल थापा प्रवृत्ति गणतन्त्र जिन्दावाद ! भन्नै नारा लगाउने अरु विभिन्न दलहरुमा, दलका नेताहरुमा पनि कायम नै छ । किनकि ती बारम्बार गणतन्त्रको पक्षमा सडक तताउन र मञ्चमा उफ्री उफ्री भाषण गर्न माहिर छन् तर नेपाली गणतन्त्रलाई संस्थागत गर्ने सामान्य प्रयत्न समेत गर्न चाहदैनन् । नेपालीको गणतन्त्र राज्य व्यवस्थाले संघीय शासन प्रणलीलाई अङ्गिकार गरिसकेको अवस्थामा पनि संघीयतालाई गलत प्रचार गर्ने तथा मुलुक बिखण्डनको उपज हो भनेर आरोप लगाउने कार्य अरुले नभई गणतन्त्रका पक्षधर हौं भन्ने दल र तिनका नेताहरुले नै गरेका छन् ।
यस मानेमा कमल थापाहरुको राजनीतिक अभिष्ठा भन्नु मुलुकलाई अनन्तकालसम्म समान्तवादको जन्जिरले बाँधिरहने भन्ने हो । तसर्थ यो प्रवृत्ति हो । यो प्रवृत्तिका पक्षधर जो कोही पनि नेपाली जनताका शत्रु हुन् । नेपाली राष्ट्रतालाई कम्जोर पार्न खोज्ने र साम्राज्यवाद तथा विस्तारवादलाई सहयोग गर्ने गद्दारहरु हुन् । राष्ट्रताको नारा दिएर मुलुकलाई कमजोर पार्न खोज्ने दलाल र राष्ट्रघातीहरु हुन् । किनकि उनीहरु गणतन्त्र नेपालको हत्या गर्ने योजनामा क्रियाशील छन् । यस मानेमा हामीले मनाइरहेको गणतन्त्र दिवसको सार के ? गम्भीर प्रश्न अघि हामी उभिएका छौं ।
हामी गणतन्त्र दिवशको दुहाई दिइरहेका त छौं । तर, नेपाली गणतन्त्रका अतिरिक्त हामीले प्राप्त गरेका सबै किसिमका राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने थलो संविधानसभाभित्र नै गणतन्त्रका हत्याराहरुको निर्वाद उपस्थिति छ । जसले गणतन्त्रको हत्या गरेरै छाड्ने कसम खाएका छन्, हामी तिनीहरुकै उपस्थिति र सहमतिमा नेपाली गणतन्त्रलाई ऐतिहासिक र दर्विलो एवम् चिरायु बनाउने अभिलाषामा छौं । हाम्रालागि यो भन्दा दुखद् पक्ष अरु के हुन सक्छ ? नेपाली गणतन्त्रको उपलब्धिले नेपाल र नेपाली जनताको भाग्य र भविष्यसँग मात्रै सरोकार राख्दैन । विश्व राजनीतिमा जनताको अभिमतले गरिने शासन व्यवस्थाको समेत प्रतिनिधित्व गर्दछ । त्यति मात्रै नभएर जुनसुकै अधिनायकवाद वा निरंकुशतालाई निषेध गर्दछ । त्यस मानेमा गणतन्त्र स्वतन्त्रता र लोकतन्त्रको समेत रक्षाकवच हो ।
लोकतन्त्र जनताको सर्वोच्चतालाई स्थायी तुल्याउने राजनीतिक परिपाटी हो । जहाँ जनताकै बलमा कुनै पनि उपलब्धि प्राप्त गर्न सकिन्छ । जनताको विकल्प लोकतन्त्रमा सम्भव छैन । तिनै जनताको अभिष्ठामा आधारित शासन पद्दतिमा गणतन्त्रको सुन्दरता सम्भव छ । यसर्थ गणतन्त्रलाई जनताको पहुँचसम्म पु¥याउन सक्ने एक मात्र उपाय भन्नु नेपाल राज्यको पुनर्संरचना गरी शासकीय अधिकार, आर्थिक, प्राकृतिक स्रोतसाधन लगायत सबै अधिकारहरु जनताको तहसम्म पु¥याउने एक मात्र माध्यम संघीयता नै हो । यसर्थ अबको नेपाली राजनीतिले तय गर्नु पर्ने कार्यदिशा भन्नु संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित शासकीय व्यवस्था नै हो ।
नेपाली सन्दर्भमा संघीयतालाई जतिसुकै आलोचना गरे पनि यो नै हाम्रो जस्तो मुलुकको मिश्रित वस्तुस्थितिलाई सहजता सहित समस्या हल गर्ने उपाय हो । विविधता युक्त मुलुकमा सबै अकांक्षाहरुलाई सम्बोधन गर्ने किसिमले अधिकार प्रत्यायोजन गरिनु पर्दछ । यसर्थ संघीयता मार्फत यी आकांक्षाहरुको विशिष्टिकरण गरेर सोही अनुरुप अधिकार प्रत्यायोजन गरिएमा मात्र सबै आकांक्षीहरुले आफू अधिकार सम्पन्न भएको महसुस गर्नुका अतिरिक्त आफूमाथि लादिएका सबै किसिमका उत्पीडनहरु अन्त्य भएको अनुभूति गर्न पाउने छन् ।
संघीयताको अर्को सवल पक्ष भन्नु क्षेत्रीयतामा आधारित विकास र नीति निर्माण एवम् कार्यान्वयन नै हो । यसो हुन गएमा प्रान्तीय किसिमले शासन सत्ता सञ्चालन मात्रै हुँदैन । हरेक नीति निर्माणमा क्षेत्रीय आकांक्षा अनुसार काम हुन जान्छ । विकासले द्रुतता प्राप्त गर्दछ । साथै, केन्द्रीकृत शासन प्रणालीमा नीति निर्माण तहमा पुग्न नसकेका अल्पसंख्यक लगायत आदिवासी जनजातिहरु, विपन्न तथा दलित, महिला, लैङ्गिक, धार्मिक अल्पसंख्यक लगायत सबैलाई राजनीतिक, सामािजक, आर्थिक, भाषिक, सांस्कृति लगायत विभिन्न कारणले उपेक्षित वर्ग तथा समुदायले समेत नीति निर्माणका तहमा सहज प्रतिनिधित्व प्राप्त गर्न सक्दछन् ।
आम जनताको आवश्यकता र आकांक्षालाई सम्बोधन गर्न नसक्ने जुनसुकै शासन प्रणाली दिगो हुन सक्दैन । यस मानेमा संविधानसभाले आगामी बन्ने संविधानलाई पहिचानमा आधारित संघीय संविधानका रुपमा जारी गर्न सक्नु नै उसको सबै भन्दा विवेकशील कार्य हुने छ । जसरी विश्वमान चित्रमा नेपाल एक स्वतन्त्र राष्ट्र राज्य हो भन्ने पहिचान स्थापित भएको छ, त्यसै गरी नेपालभित्र थाँत खुलेका सबै जाति समुदायको अधिकारलाई सम्बोधित गर्दै उनीहरुको स्पष्ट पहिचान झल्कने गरी संघ राज्यहरु, स्वायत्त क्षेत्रहरुको स्थापना गरिन आवश्यक छ ।
नेपाली गणतन्त्रको मान्यता र सञ्चालन नेपाली मौलिकतामा आधारित संघीयता र त्यसको बलमा खोजिने र प्राप्त हुने बहुराष्ट्रतामा आधारित हुनु पर्दछ । नेपाली राष्ट्रतालाई कुनै एक इकाईमा मात्रै सीमित राख्न खोजियो भने त्यो हिजोको निरंकुश राजतन्त्रका बलमा स्थापित एकात्मक शासन प्रणाली बाहेक अरु हुने छैन । अब मुलुक शासन सत्ता देशका विभिन्न केन्द्रहरु मार्फत सञ्चालन हुन आवश्यक छ । यी विभिन्न केन्द्रहरुको समन्वयका निम्ति एउटा समन्वयकारी निकाय काठमाडौंमा स्थापित गर्न सकिने हो भने मुलुकले उन्नति गर्ने पक्का छ । गणतन्त्रमा जनताले चाहे जस्तो द्रुत गतिको विकास र त्यसले सृजना गर्न सक्ने रोजगारीका अवसरको खोजी हुनु स्वाभाविक हुन्छ । तथापि नेपाली गणतान्त्रिक राज्य व्यवस्थाले नेपाली मौलिकतालाई नै मुलुक रुपान्तरणको आधारभूत सिद्धान्त नबनाएसम्म र अरुकै मोडलको चोरी र सिको गरेर बसिरहेसम्म उन्नति टाढाकै विषय हुने छ । मुलुकलाई उपभोक्तावादी र विचोलिया संस्कारबाट अलग गरेर उत्पादनशील बाटोमा नलगेसम्म परनिर्भरता कायमै रहने पक्का छ । आत्मनिर्भरता सहितको गणतन्त्र नेपालले मात्रै वौद्धिक खडेरीलाई रोक्न सक्ने सामथ्र्य राख्दछ । यसले नै राष्ट्रिय पुँजीको विकास र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्ने तथा नेपाली मौलिकतामा रमाउने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बलियो जग निर्माण गर्न सम्भव छ । जहाँ नेपाली जनताको समावेशी उपस्थिति सहित राष्ट्रिय तहमा नीति निर्माण र कार्यान्वयनको कल्पना गर्न सकिन्छ ।