मजदुर

4 years ago Editor 0

– कमन देवान

KAMAN 1

उसको निधारको डिल भएर
बगेको श्रमको खोला
त्यो खोलामै किन नबगेको होला ?
उसका सबै दुःख र पीडाहरु ।
अक्टोबर क्रान्तिका कथा
उसले थाप्लोमा बोकेर डुलाई हिँडेको
सताब्दी अघिदेखि कै व्याथा हो,
क्रान्ति सफलताको उन्माद
उसलाई कहिल्यै थाहा छैन
उसले कल्पेको समृद्धिको
अमूर्त सपनाको झुप्रोमा
चुल्हो बलेको रातको
त्यो धिमा उज्यालो अझै त उस्तै छ ।
आशाहरु नफाटे पनि
उसले टेकेको धरतीसँगको संघर्षमा
उसका पाइतालाहरु चिरिएका छन्
त्यहाँबाट बगेको रगतले
थुप्रै बने महलहरु,
थुप्रै ढले शासनका पुलिन्दाहरु,
तर उसले सुकाएको
आस्थाको बिस्कुन
अहिले पनि सुकेको छैन सुकिलो बनेर ।
हरेक मिर्मिरेमा
चराहरुको चिरबिरसँगै
उसले आफ्नो भाग्यको आरनमा
पिटिरहन्छ जीवनको घन
अनि दिन्छ आकार
उ सम्रगमा बाँचेको सभ्यतालाई,
युगलाई, समयलाई र लोकलाई ।
उसले स्वीकारेका विश्वासहरुमा
बारम्बार चलेका छन् शिल्पीका गैंतीहरु
सुलभतामा
हरप्रहर उत्पादनका लागि
ऊ मेशिनहरुको शिकार बन्छ
तर,
आफ्नो कर्मसँग कहिल्यै विचलित नहुने
उसको महानता आफैमा महान छ ।
ऊ, जो आधा पेट अघाएर
आकाश ओढेर
अनि
धुलोमा पसिनाको लालित्य पस्केर
जीवनको असीमित पहाड भन्दा
जहिल्यै पनि माथि
टाकुरामा उभिएको छ
मनौ, त्यो विजयको झण्डा हो ।
चट्टान भन्दा पनि कठोर छ
उसले लिएको जीवनको अठोट
हिमाल भन्दा पनि अटल छ
उसले हुर्काएको हिम्मतको शान
तर
अरुको जीवनलाई सँधै रङ्गाउने
उसको विपनाका अघि
ऊ आफैले प्रिय मानेको जीवनको रङ्ग
सँधै किन फिका–फिका मात्रै भएको होला ?
अरुको विलाशिता साकार पार्ने
ऊ आफैको दैनिकी किन निरस बनेको होला ?
उसको रगत र पसिनाले हुर्काएको
दुनियाको आजको उज्यालोमा
किन, उसका अन्धकारहरु जीवित नै छन् ?
असंख्य प्रश्नहरुमा
ऊ, युगकै सिपालु कर्मी हो
जाँगरको पर्याय हो
श्रमको मुहान हो अनि
ऊ, हो कर्मको मालिक ।