लोकतन्त्र

4 years ago Editor 0

– कमन देवान

पहाड बनेर पनि पहाडले नै थिचिएको
बोझको कथा छ मसँग
उन्मुक्तिका
भीमकाय चट्टानहरु फुटाएर पनि
अझै जन्जिरले बाँधिएको
मेरो दासताको कथा छ
यो कथामा
म मालिक भए पनि शासित छु ।
तिमी सुन्न सक्छौ वा सक्दैनौ
मेरा दवाइएका चित्कारहरु
तर
सुने झैं गरेर नसुन्ने तिम्रो प्रवृत्तिमा
हर प्रहर म लुटिएको छु
नागरिक हुनुको अभिषापमा
म यतिबेला
‘दोस्रो दर्जा’ बाँच्न विवश छु ।
यो जीवन
अभावको अहंकारले गाँजेको छ
अवसरले नचिनेको
फगत लठैत मात्रै हो,
वीरताको गाथामा उनिएको
अनि
औइलाएको दुव जस्तै
कायरताको परिभाषा बनेर
तिम्रो प्रयोगशालामा
मैले पटक–पटक बौरिनुपर्छ ।
मेरो चिम्सो आँखामा
तिमीले विचार थिचाएका छौ
मेरो थेप्चो नाकमा
तिमीले अवसरको मूल थुन्ने
उच्च कोशी र गण्डकी बाँध बनाएका छौ
अनि
त्यहि बाँधको डिलमा सिरान लगाएर
तिमी लुइस चौधौंले झैं बाँसुरी बजाउँछौ
आनन्दलाभ लिन्छौ ।
मैले जन्मिएकै दिन
मेरो जिब्रो थुतेर तिमीले
मलाई आफ्नै आमादेखि बिरानो बनायौ
अनि
हरेक पाइलामा सिकायौ
केवल तिम्रो आरधनाको भक्ति ।
तिम्रो अनुकूलका थुप्रै लडाँइहरुमा
म पाइलै पिच्छे घाइते बाघ बनेर लडेँ
आफ्नैहरु विरुद्ध लडेँ
पराई भनिएकाहरुसँग पनि लडेँ
मैले
छातीमा थापिरहेँ गोलीहरु
तक्माहरु तिमीले भिर्दै गयौ
मैले युद्ध जितेर पनि हारेँ
तिमीले नलडी युद्ध जित्यौ ।
मेरा शिल्पीहरु मरे
आस्थाहरु ढले
मैले सबै गुमाउँदा पनि
तिम्रो विरासत ढल्न दिइनँ
मैले रक्ताम्मे भएर पनि
तिम्रो शिर काट्न दिइँन ।
मेरो रगतले सिँचेर तिम्रो बनेको
यो आँगनमा
मैले फूल्न नपाउनु !
भन
के त्यस्तो अपराध गरेँ ?
यस्ता
अनेकन प्रश्नहरुको ठेली कसेर
उसका अघि म
जवाफ पर्खिरहेको छु –
तर
ऊ कहिल्यै बोल्दैन ।
माफ गर्नुहोला…………
उसको नाम ‘लोकतन्त्र’ हो ।