लोकतन्त्र दिवसको सन्दर्भमा

4 years ago Editor 0

कमन देवान

KAMAN 1

आज लोकतन्त्रका नाउँमा ठूलठूला भाषण गर्नेहरु टुँडिखेलको चउरदेखि जहाँ र जुन–जुन मञ्चमा बोल्न पाए पनि चिच्याई चिच्याई बोल्छन् । किनकि लोकतन्त्रमा अरुको लुटेरै खाए पनि वा कसैलाई ठगेरै खाए पनि अथवा राज्यको ढुकुटी रित्याएर पनि आफ्नै गफलाई बढावा दिने स्वतन्त्रता र छुट दुवै छ । त्यसैले त हामी लोकतन्त्रको महिमागानमा ओठेभक्तिले निर्लिप्त हुन्छौं । यो हाम्रो प्रवृत्ति र आचरण हो । लोकतन्त्रको विशेषता भने होइन ।
असीमित परिभाषाले पनि लोकतन्त्रको खास महत्वलाई पूर्णता दिन सक्दैन । किनकि २१ औं सताव्दीको युगमा नागरिक सर्वोच्चतासँग जोडिएका सबै विषयहरु लोकतन्त्रको आयाम अन्तर्गत पर्दछन् । लोकतन्त्रले कुनै एक जना नागरिकको अधिकारसँग समग्र राष्ट्रकै सवाललाई सौदावाजी गर्न सक्दैन । तर, सिङ्गो राज्य एकातिर हुँदा पनि न्यायीक अधिकारका सवालमा कुनै एक नागरिकले लोकतन्त्रमा जितेका केही उदाहरणहरु पनि छन् । वास्तवमा सत्यको धरातलमा उभिएर कतै न्यायले जित्ने व्यवस्था छ भने त्यो लोकतन्त्रको पक्षमा हुन्छ । लोकतन्त्र भनेको राज्य भन्दा पनि नागरिक बलियो हुने व्यवस्था हो । लोकतन्त्र भनेको आफूलाई लागेका कुरा खुलस्त र नियम सङ्गत किसिमले पोख्न पाउने अधिकार सहितको शासन व्यवस्था हो । पुराना परिभाषाहरु भन्दा माथि उठेर भन्नु पर्दा –
लोकतन्त्र जुनसुकै र जहाँसुकै अनि जो कसैमाथि पनि थोपरिएका शोषण र उत्पीडनको खरो विरोध गर्न पाइने, न्यायमा आधारित समानताको खोजी गर्न पाइने नागरिक अधिकार सहितको शासन व्यवस्था हो ।
नेपाली समाजमा यतिबेला लोकतन्त्रको ठेक्केदारी र सौदावाजी गर्नेहरुको कम भिड लागेको छैन । जनतालाई बेवकुफ बनाउनेहरुले राजनीतिलाई हतियार बनाएर होस् वा गरिबि, अशिक्षा, बेरोजगारी आदि जुनसुकै बहानामा पनि ठग्ने र जनताकै घिच्रो निमोठ्ने काइदालाई लोकतन्त्रको सर्वोत्तम उपयोगिता ठानेका होालन् । वा जनतालाई नै बलिको बोको बनाएर आफ्ना निजी स्वार्थहरु पूर्ति गर्ने दिशामा मात्रै केन्द्रित हुने कार्य गरे होलान् । यथार्थमा ती लोकतन्त्रका धमिराहरु मात्रै हुन् । लोकतन्त्रका असल रक्षक र पालक होइनन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उदय असंख्य बलिदानी, त्याग र संघर्षका उपज हुन् । असंख्य नेपाल आमाका सपुतहरुले जीवन उत्सर्ग गरेर यो राज्यमा लोकतन्त्रको उज्यालो झलमल्ल छाएको छ । तर, जनसर्वोच्चता सहितको गणतन्त्र र समावेशीता सहितको लोकतन्त्रलाई संस्थागत हुन नदिनका लागि नेपाली जनताको उन्नति र प्रगति विरोधी तत्वहरु यी उपलब्धिहरुलाई ध्वस्त पार्न षड्यन्त्रमा जुटेका छन् । नेपाली लोकतन्त्रका लागि यतिबेला बिल्कुलै अप्ठ्यारो परिस्थिति सृजना हुँदै गएको छ । सचेत नेपाली जनताले यस्ता षड्यन्त्रहरुको विरुद्ध फुटेर होइन जुटेर मुकाविला गर्नु पर्ने दिन आएको छ ।
जुनसुकै नाउँमा संघीय गणतन्त्र नेपाललाई असफल बनाउन लाग्नेहरुका खिलाफ पुनः मुलुकमा संघर्ष गर्नुपर्ने दिन नजिकिँदै गएको छ । राष्ट्र र राष्ट्रताका धरोहरका रुपमा रहेका सबै राष्ट्रियताहरुलाई एकगठ्ठा गरेर शिशु गणतन्त्रको रक्षार्थ अग्रगामी शक्तिको जन्म हुन आवश्यक बनेको छ । त्यसले मात्रै मुलुकको लोकतन्त्रलाई चिरस्थायी तुल्याउन सक्ने विश्वास गर्न सकिन्छ । लोतन्त्रका निम्ति जुनसुकै अतिवाद खतरा हो । तसर्थ अतिवादलाई परास्त गरेर सहअस्तित्ववादको उदय गराउन सक्ने प्रेरणा हामीलाई लोकतन्त्र दिवसले प्रदान गर्न सकोस्, यो कामना गरौं ।
लोकतन्त्रको आधारस्तम्भ जनता र जनताको अधिकार हो । कुनै पनि बहानामा नागरिक अधिकारको खिलाफ कसैले कार्य गरे त्यो लोकतन्त्रका निम्ति सह्य विषय हुन सक्दैन । नेपाली राजनीतिको अग्रगामी कार्यदिशा समावेशी लोकतन्त्र हो । त्यसो भएको हुँदा राज्यका हरेक निकायमा जातीय, लैङ्गिक, क्षेत्रीय लगायत आवश्यक सबै किसिमले समावेशीता लागू हुनु पर्दछ । अन्यथा लोकतन्त्रका नाउँमा लुटतन्त्र र लहडतन्त्रले मात्रै मुलुकलाई गाँजिरहने खतरालाई इन्कार गर्न सकिन्न । हामीले लोकतन्त्र दिवस मनाइरहेको सन्दर्भमा मुलुकले शान्ति र संविधानको कार्यभार बोकेर घिस्रिरहेको नाजुक अवस्थालाई बिर्सन सकिन्न । मुलुकलाई घिसारिरहने वा दौडन सक्ने बनाउने ? यो जिम्मा फेरि पनि नेपाली राजनीतिको नै हो । राजनीतिक दलहरुले बाटो बिराएको खण्डमा उनीहरुलाई राष्ट्र र जनताको कार्यदिशामा नाकी लगाएर फर्काउने जिम्मा सचेत नेपाली जनताको नै हो । जनता जागेका दिन इतिहास ढल्छ र इतिहास जन्मन्छ पनि । नेपाली जनता इतिहास निर्माण गर्न सक्षम थिए र छन् । अब फेरि जनताले इतिहास निर्माणमा जुट्ने समय आएको छ ।