माईपोखरी संरक्षणका लागि ६५ लाखको कार्यक्रम

4 years ago Editor 0

नेपाल, इलाम
२१ अप्रिल /

विगतको सुन्दर माइपोखरी ।
विगतको सुन्दर माइपोखरी ।

पानीको सतह घट्दै गएको माईपोखरीमा वन मन्त्रालय अन्तर्गतको बहुसरोकारवाला वन कार्यक्रमको सहयोगमा द इष्ट फाउण्डेसन (टीईएफ) नामक संस्थाले माईपोखरी रामसार क्षेत्र संरक्षण सम्बन्धी परियोजना (ब्यूल्डिङ क्लाइमेट रेजिलेन्स ः कन्जरभेसन इन माईपोखरी रामसार साइड एण्ड इट्स सराउडिङ वेटलेण्डस्) सञ्चालन गर्ने भएको छ ।
शुक्रबार जिल्ला विकास समिति इलामको सभाकक्षमा स्थानीय विकास अधिकारी मदन कोइरालाको अध्यक्षतामा सम्पन्न जिल्लास्थित सरोकारवालाहरु सहित माईपोखरी रामसार क्षेत्र व्यवस्थापन समितिको बैठकले उक्त परियोजना अनुमोदन गरेको हो ।
बैठकमा टीइएफका कार्यकारी निर्देशक खगेन्द्र सङ्गमले ६४ लाख ६६ हजार बराबरको सो परियोजनाका बारेमा जानकारी दिएका थिए । परियोजनामा बहुसरोकारवाला वन कार्यक्रम अन्तर्गतको सेवा सहयोग इकाईको ४८ लाख एक हजार सहयोग रहनेछ । त्यस्तै जिल्ला विकास समितिको चार लाख १० हजार, जिल्ला वन कार्यालयको तीन लाख तीस हजार, माईपोखरी धार्मिक वन समूहको ५० हजार र टीईएफको आठ लाख ७५ हजार बराबरको सहभागिता रहने बैठकमा जानकारी दिइयो ।
परियोजनाले माईपोखरी रामसार क्षेत्र व्यवस्थापन योजनाको प्रत्यक्ष समन्वय तथा अनुगमनमा कृयाकलापहरु गर्ने जनाइएको छ । परियोजना अन्तर्गत पोखरीको फोहोर फाल्ने, गैर रैथाने माछा हटाउने, विश्वभरमै माईपोखरीमा मात्रै पाइने गलैँचे झ्याउ वृद्धि गर्ने, जलसतह वृद्धि गर्ने, सीमसार र जलवायु परिवर्तन सम्बन्धी सचेतना जगाउने कामहरु गर्नेछ । त्यस्तै सीमसारमैत्री प्राङ्गारिक खेती, वन नर्सरी, आयातित वनस्पति विस्थापन, सूचना तथा पर्यटन केन्द्र स्थापना, भ्यू प्वाइण्ट निर्माण, पर्यटन प्रवद्र्धन, सीमसार नक्शाङ्कन लगायतका काम परियोजना अन्तर्गत गरिनेछ ।
यही सन २०१४ को मार्चदेखि एक वर्षसम्म सञ्चालन हुने परियोजना अन्तर्गत जैविक भौतिक अध्ययन, शोध अध्ययन, सूचना अभिलेख व्यवस्थापन लगायतका कार्य पनि गरिने बैठकमा जानकारी दिइयो । बैठकमा सरोकारवालाहरुले सबैभन्दा पहिलो पानीको सतह वृद्धिका लागि ठोस् काम गर्नु पर्नेमा जोड दिँदै माछा हटाउने, गैर रैथाने वनस्पति विस्थापन गर्ने जस्ता काम विज्ञको अध्ययनपछि मात्र गर्दा राम्रो हुने बताएका थिए ।
बैठकमा प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले परियोजना सञ्चालन गर्दा नियमानुसारका प्रक्रिया पूरा गर्ने र आर्थिक पारदर्शीता कायम राख्ने काममा कार्यान्वयन गर्ने निकाय सचेत हुनुपर्ने बताए । स्थानीय विकास अधिकारी कोइरालाले टीइएफका प्रतिनिधिलाई परियोजना सञ्चालन गर्दा आवश्यक परेका बेला चाँडो समन्वय गर्न भन्दै सहयोग गर्न जिविस तयार रहने बताए ।
परियोजनाले फोहोर फाल्ने काममा ५० हजार, गैर रैथाने माछा हटाउन २५ हजार, गलैँचे झ्याउ वृद्धि गर्न १० हजार, जलसतह वृद्धि गर्न ६ लाख, अनुगमनका लागि १० लाख पाँच सय, सीमसार र जलवायु परिवर्तन सम्बन्धी सचेतनामा एक लाख ७२ हजार पाँच सय र सीमसारमैत्री प्राङ्गारिक खेतीका लागि ७५ हजार खर्च गर्नेछ ।
त्यसैगरी स्थानीय वन नर्सरीका लागि तीन लाख १२ हजार, सम्वेदनसील क्षेत्र छुट्याउन तीन लाख ५० हजार, रैथाने वृद्धि गरि आयातित वनस्पति हटाउन तीन लाख २२ हजार पाँच सय, सूचना केन्द्रका लागि छ लाख १२ हजार पाँच सय, भ्यू प्वाइन्ट निर्माणमा तीन लाख २५ हजार खर्च गर्ने जानकारी दिइयो ।
पर्यापर्यटन प्रवद्र्धनमा ७५ हजार, सीमसार नक्शाङ्कनमा ५० हजार, जैविक भौतिक अध्ययनमा ४० हजार, समन्वय बैठकमा एक लाख ९० हजार, विज्ञ परामर्श खर्च चार लाख ५० हजार र सूचना सामग्रीमा ७५ हजार खर्च गरिनेछ । सूचना केन्द्रमा अनुगमन तथ्याङ्क अध्यावधिक गर्न एक लाख ९४ हजार, भिडियो डकुमेन्ट्री निर्माण तथा प्रकाशनमा दुई लाख ५० हजार, शोध अध्ययन सहयोगमा ५० हजार, अनुगमनमा ५० हजार, यातायात तथा कार्यक्रम भत्तामा छ लाख १५ हजार, मसलन्दमा ४० हजार पाँच सय, व्यवस्थापनमा ११ लाख ६० हजार र ओभरहेड दुई लाख ७१ हजार बजेट रहेको पनि बैठकमा जानकारी दिइयो ।