पधानमन्त्रीलाई शरणार्थीको ज्ञापन

4 years ago Editor Comments Off on पधानमन्त्रीलाई शरणार्थीको ज्ञापन

नेपाल, बेलडाँगी
२० अप्रिल

भुटानी शरणार्थीको एक टोलीले सम्मानजनक स्वदेश फिर्तिको माग गर्दै आइतबार प्रधानमन्त्री शुशील कोइराला समक्ष ज्ञापन–पत्र बुझाएका छन् ।
भुटानी शरणार्थी जेष्ठ नागरिक स्वदेश फिर्ति समितिका संयोजक हर्कजङ्ग सुब्बा सहितको टोलीले नेपाली कांग्रेसले थालेको जनजागरण अभियानको उद्घाटन गर्न झापाको विर्तामोड आएका प्रम कोइरालाई भेट गरी ज्ञापन–पत्र बुझाएका हुन् ।
समितिका प्रवक्ता सन्तवीर घलेका अनुसार शरणार्थी समस्या समाधानका लागि अघि सारिएका तीन विकल्प मध्ये शरणार्थी सम्वन्धी राष्ट्र संघीय उच्चायोग (युएनएचसिआर) ले तेस्रो मुलुक पुनर्वासलाई मात्र बढावा दिएको आरोप लगाए ।
तेस्रो मुलुकलाई मात्र जोड दिँदा शरणार्थीहरुको स्वदेश फिर्ति अधिकारमाथि कुठाराघात भएको बताउँदै तत्काल स्वदेश फर्कन चाहने शरणार्थीको विषयमा नेपाल सरकारले पहल गर्न माग गरेको समितिले जानकारी दिएको छ ।
एक सय ३८ जनाको प्रतिनिधि हस्ताक्षर सहित ज्ञापन–पत्र बुझाएको र प्रम कोइरालाले सकरात्मक आश्वासन दिएको समितिले जनाएको छ ।