अमेरिका पुनर्वास हुने भूटानी शरणार्थी संख्या ७५ हजार

4 years ago Editor 0

नेपाल, बेलडाँगी
८ अप्रिल /
तेस्रो मुलुक पुनर्वास कार्यक्रम रोजेर अमेरिका प्रस्थान गर्ने भूटानी शरणार्थीको संख्या ७५ हजार पुगेको छ ।
शरणार्थी रेखदेखका लागि कार्यरत राष्ट्रसंघीय निकाय (युएनएचसिआर) ले दिएको जानकारी अनुसार ४४ वर्षीय तीलकचन्द घिमिरे परिवार सहित मंगलबार अमेरिका प्रस्थान गरेका हुन् । उनीसँगै श्रीमती, १२ वर्षीय छोरी र ७५ वर्षीय अभिभावक अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा सन् २०१० मा पुनर्वास भएका घिमिरेका दाजुसँगै बस्ने बताइएको छ ।
अमेरिका जाने क्रममा उनले आफू धेरै उत्साहित र केही डराएको बताए । अमेरिकामा सफल हुनका लागि अनिवार्य अङ्ग्रेजी सिक्नै पर्ने र कडा मिहिनेत गर्नुपर्ने उनले बताए । आफ्ना सन्तानले गुणस्तरीय शिक्षा र नागरिकताको अवसर पाउने भन्दै घिमिरेले रमाइलो अनुभव भएको सुनाए ।
नेपाल सरकार, शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग र अन्तर्राष्ट्रिय आप्रवासी संगठनसँगको सहकार्यमा अमेरिकाले पूर्वी नेपालमा रहेका भूटानी शरणार्थीहरूलाई सन् २००७ देखि पुनस्र्थापना गर्न शुरु गरेको हो ।
अमेरिका सहित पुनस्र्थापना कार्यमा संलग्न अन्य राष्ट्रहरू अस्ट्रेलिया, क्यानडा, नेदरल्यान्ड, डेनमार्क, नर्वे, न्युजील्यान्ड, र बेलायतले संयुक्त रुपमा ८८ हजार ७ सय ७० जना भूटानी शरणार्थीलाई पुनर्वास गरिसकेको छ ।