‘संविधानसभा संरचना आदिवासी जनजाति विरोधी’

4 years ago Editor 0

नेपाल, दमक
६ अप्रिल /

nirbachit padhadhikari

 

नेपाल आदिवासी जनजाति महासंघका संस्थापक महासचिव सुरेश आले मगरले दोस्रो संविधानसभाको संरचना नेपालका आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अल्पसंख्यक समुदायका विरुद्ध बनेको आरोप लगाएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषद्को दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै महासंघका संस्थापक महासचिव मगरले भने –‘ मुलुकका उत्पीडित जाति, क्षेत्र, लिङ्ग, समुदायका लागि पहिचान सहितको संविधान आवश्यक छ । तर, अहिलेको संविधानसभा त्यसको प्रतिकूल छ । त्यसले एक थान संविधान दिन सक्ला, तर त्यो हाम्रो हितमा हुनेछैन ।’
आदिवासी जनजाति आन्दोलनका अगुवाका रुपमा परिचित मगरले कार्यक्रमलाई सम्बोधन गर्दै भने –‘संविधानसभामा पहिचान विरोधी तत्वहरुको वर्चस्व भएका कारण फेरि पनि पुरानै ढाँचाको यथास्थितिवादी संविधान जारी हुने आशंका बढेको छ ।’ उनले पचिान सहितको संघीयतालाई जातीय राज्यको मागका रुपमा व्याख्या गर्ने परिपाटी अन्त्य हुनुपर्ने समेत माग गरे ।
कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाको अध्यक्ष पारसमणि राईले पहिचान सहितको संघीयताका निम्ति नेपाल आदिवासी जनजाति महासंघले केन्द्रीय तहदेखि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको बताए । उनले जिल्ला र नगर तथा गाउँ तहका सम्पूर्ण आदिवासी जनजाति लगायत जातीय संस्थाहरुलाई आन्दोलनका निम्ति तयारी गर्न समेत आग्रह गरे ।
अधिवेशनको उद्घाटनशत्रलाई सम्बोधन गर्दै संविधानसभाका सदस्य महेन्द्रकुमारी सुब्बाले आदिवासी जनजातिको अधिकार स्थापित गर्न आफूले संविधानसभामा भूमिका खेल्ने तथा स्थानीय स्तरमा समेत आदिवासी जनजातिहरुको उत्थानका निम्ति लागि पर्ने जिकिर गरिन् ।
कार्यक्रममा पूर्व सभासद् विश्वदीप लिङ्देन, महासंघका पूर्व जिल्ला अध्यक्ष शिवशंकर थापा मगर, संस्थापक दमक नगर अध्यक्ष धिरेन सुब्बा लाओती, राष्ट्रिय आदिवासी जनजाति महासंघकी दमक नगर अध्यक्ष धनमाया थापा मगर, धिमाल जातीय विकास केन्द्रका पूर्व केन्द्रीय अध्यक्ष रामबहादुर धिमाल, नेपाल तामाङ घेदुङ संघका झापा जिल्ला अध्यक्ष कृष्णबहादुर गोले, नेपाली कांग्रेस दमक नगर सभापति ढुण्डीराज भण्डारी लगायतले सम्बोधन गरेका थिए ।
महासंघका दमक नगर अध्यक्ष मोहन धिमालको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटनशत्रमा सचिव पदम जबेगुको सञ्चालन तथा उपाध्यक्ष कल्पना तामाङको स्वागत रहेको थियो ।

महासंघ दमक नगरमा बासुदेव

यसैबीच महासंघ दमक नगर समन्वय परिषद्को दोस्रो नगर अधिवेशनको बन्दशत्रले बासुदेव राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
राईको अध्यक्षतामा नवनिर्वाचित समितिका उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः गोपाल श्रेष्ठ, हरि लामा, सुरेन्द्र देवान र पदमकुमारी लिम्बू चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः देवप्रसाद ताजपुरिया, शंकर भूजेल, अम्मर धिमाल, नरेश सुनुवार र सुमन एका (उराव) चयन भएका छन् । छुटेका जातिहरुलाई महासंघको नवनिर्वाचित समितिले विधानतः सदस्यमा मनोनित गर्ने बन्दशत्रका अध्यक्ष मण्डलका अध्यक्ष तथा महासंघका झापा जिल्ला अध्यक्ष पारसमणि राईले जानकारी दिए ।
यसैबीच बन्दशत्रमा आर्थिक र प्रगति प्रतिवेदन पारित भएलगत्तै अध्यक्ष मण्डल गठनका सम्बन्धमा वादविवाद हुँदा निवर्तमान अध्यक्ष मोहन धिमालले पूरानो कार्य समिति बिघटन गरेर अधिवेशनको बाँकी कार्यक्रम आज दिउँसो सम्पन्न गर्ने भन्दै बन्दशत्र स्थगित गरेपछि हल छाडेका थिए । धिमाल नेतृत्वको समूहले हल छाडेर गएपछि बन्दशत्रको बाँकी कार्यक्रम सम्पन्न गर्न हलका सहभागीहरुले महासंघको झापा जिल्ला कार्य समितिका अध्यक्ष पारसमणि राईको अध्यक्षतामा अध्यक्षमण्डल गठन गरेर अघि बढाएका थिए । सो समितिमा पूर्वसभासद् विश्वदीप लिङ्देन र नेपाल तामाङ घेदुङ संघका झापा अध्यक्ष कृष्णबहादुर गोले सदस्य रहेका थिए ।

भिडियो लिङ्कका लागि तल क्लिक गर्नुहोस्

http://youtu.be/R11cqJHZy7c