फोहोर मैला बारे सर्वेक्षण गरिने

4 years ago Editor 0

नेपाल, बिर्तामोड
१९ मार्च /

btmode

झापाको व्यस्त शहरका रुपमा विकसित बन्दै गएको बिर्तामोडको क्षेत्रमा दैनिक उत्पादन हुने फोहोरको दीगो व्यवस्थापनका लागि झापा उद्योग बाणिज्य संघ बिर्तामोड शाखाको अगुवाईमा सर्वेक्षण गरिने भएको छ ।
फोहोर मैलालाई उचित व्यवस्थापन गर्नका लागि व्यवस्थित योजना सञ्चालन गर्ने बारे सर्वेक्षण हुन लागेको हो । बिर्तामोड क्षेत्रबाट के कस्ता र कति परिमाणमा दैनिक फोहोर उत्पादन हुन्छ भन्ने तथ्याङ्क सो सर्वेक्षणबाट निकालिने बताइएको छ ।
फोहोर उत्पादन बारेको यकिन तथ्याङ्क प्राप्त भएपछि मात्रै यसको व्यवस्थापन बारे दीर्घकालीन रुपले कार्य अगाडि बढाउन सकिने निष्कर्ष सहित झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोडले सर्वेक्षणका लागि कम्मर कसेको हो ।
संघका बाणिज्य उपाध्यक्ष तथा फोहोर मैला व्यवस्थापन समिति संयोजक प्रकाश शिवाकोटीका अनुसार नगरोन्मुख अनारमनी गाविससँगको सहकार्यमा सर्वेक्षण गरिने तयारी थालिएको छ । संयोजक शिवाकोटी भन्छन् –‘बिर्तामोड क्षेत्रमा सञ्चालनमा रहेका उद्योग कलकारखाना, हस्पिटल, विद्यालय, होटल, रेष्टुरेन्ट अन्य कार्यालय तथा निजी घरबाट दैनिक के–कस्ता र कति परिमाणमा फोहोर मैला निस्कन्छ, सोको यथार्थ तथ्याङ्क निकाल्न सर्वेक्षण गर्न लागिएको हो’ । बाणिज्य संघका सदस्य एवम् समितिका सह–संयोजक टेकनाथ ढुङ्गानाले स्वयम्सेवक परिचालन गरी फोहोर मैलाको तथ्याङ्क निकालिने बताए ।
सर्वेक्षण कार्यका लागि झापा उद्योग वाणिज्य संघसँग ५० हजार रुपैयाँ र अनारमनी गाविससँग दुई लाख रुपैयाँ माग गरिसकिएको र उक्त निकायबाट सकारात्मक जवाफ आएको संघका सदस्य एवम् फोहोर मैला व्यवस्थापन समितिका सदस्य रवीन्द्र भट्टराईले जानकारी दिए । शिवाकोटी संयोजक, ढुङ्गाना सह–संयोजक रहेको फोहोर मैला व्यवस्थापन समितिमा भट्टराई सहित कृष्ण उदास र उर्मिला खरेल सदस्य रहेका छन् ।
झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोडका अध्यक्ष बलराम कार्कीले यस क्षेत्रको ठूलो समस्याको रुपमा देखा पर्दै गएको फोहोर मैलाको उचित र दीगो व्यवस्थापनका लागि संघले अग्रणी भूमिका निर्वाह गरिरहेको बताए । अध्यक्ष कार्की भन्छन् –‘संघ एक्लैले केही गर्न सक्दैन, अनारमनी, चारपाने गाविस तथा सरोकारवाला निकायसँगको सहकार्य अपरिहार्य छ ।’
फोहोरमैला व्यवस्थापनमा आवश्यक सल्लाह सुझाव प्रदान गर्नका लागि समितिले मुलुक बस्नेतलाई सल्लाहकारमा नियुक्त गरेको छ । समितिले प्रत्येक उद्योग, हस्पिटल, विद्यालय, होटल रेष्टुरेन्ट, व्यापारिक प्रतिष्ठान, कार्यालय, निजी घरमा स्वयम्सेवक पठाएर फोहोर मैलाको सर्वेक्षण गर्ने जनाएको छ ।