हाजिर बिना नै सरकारी जागिर

4 years ago Editor 0

नेपाल, दमक
१९ मार्च /
झापाको दमकस्थित पशु सेवा केन्द्रका एक जना खरिदार तहका पशु स्वास्थ्य प्राविधिकले लामो समयदेखि कार्यालयमा नगई जागिर खाँदै गरेको खुल्न आएको छ ।
पाँच वर्षदेखि दमकको केन्द्रमा कार्यरत सन्तोष भण्डारीले कार्यालय प्रमुखलाई प्रभाव पारेर जागिर खाँदै आएको खुलेको हो । कार्यालय समयमा उनी पशु स्वास्थ्य केन्द्रमा वा किसानका घर गोठमा पुग्दैनन् । उनी एक विद्युत्तीय सञ्चार माध्यममा दुई वर्षदेखि बजार व्यवस्थापकका रुपमा कार्यरत छन् ।
पशु सेवा केन्द्रका प्रमुख गणेश प्रधानले कर्मचारी भण्डारी दैनिक कार्यालय नआएको स्वीर्कादै पटक–पटक सचेत गराइएको बताए । उनले भने –‘ कर्मचारी भण्डारीका बारे उपल्लो तहमा जानकारी गराएको छु ।’ भण्डारी सहित चार जना पशु प्राविधिक कार्यरत रहेका छन् ।
मासिक १४ हजार रुपैयाँ सरकारी तलव बुझदै आएका भण्डारी २०५२ सालमा लोक सेवाबाट सेवा थालेका बुझिएको छ । हाल उनी कार्यरत सञ्चार माध्यमबा समेत सोही अनुपातमा तलब खाँदै कार्यरत रहेको बताइन्छ ।
जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत सागर मिश्रले सरकारी कर्मचारीले कार्यालय समयसम्म सेवा नदिएको पाइए कार्बाहीका लागि सम्बन्धित विभागमा पत्राचार गर्ने बताए । जिल्लाका ६० कर्मचारीहरुलाई पछिल्लो समय स्पष्टिकरण माग गरिएको उनले जानकारी दिए ।