देवी गुठीको १२ विगाहा जग्गा व्यक्तिको नाममा

4 years ago Editor 0

टीकाराम उप्रेती
नेपाल, दमक
१९ मार्च /

jagga

झापाको अनारमनीमा अवस्थित देवी गुठीको करौडौं मूल्य पर्ने जग्गा व्यक्तिले हडपेको खुल्न आएको छ । अनारमनी–५ स्थित देवी गुठीको नाममा रहेको साविक कित्ता नम्वर १२२, ८२०, ८१२, १२०, ८२२, ८२५ र ८१५ रहेको १२ विगाहा जग्गा व्यक्तिको नाममा कायम गरिएको रहस्य सार्वजनिक भएको हो । गुठीको जग्गा अवैध किसिमले दुई जना व्यक्तिको नाममा स्रेस्ता कायम गरेको पाइएको छ ।
स्रोतका अनुसार गुठीको जग्गा यसरी व्यक्तिको नाममा हडप्ने गिरोहहरुले आर्थिक चलखेल गरी जग्गा स्वामित्व समेत मिलाएका हुन् । ती गिरोहमा गुठी संस्थानका पूर्व अधिकारीहरुको संलग्नता भएको स्रोतको दावी छ । संस्थानका तत्कालीन अध्यक्ष ख्याम मैनाली र गणेश ओलीको प्रत्यक्ष संलग्नतामा रातारात गुठीको जग्गा राज गुठी हुँदै अहिले व्यक्तिको नाममा ल्याइएको हो ।
एकीकृत नेकपा माओवादी झापाका प्रचार प्रसार संयोजक सीपि कडरियाका अनुसार वर्षौंदेखि गुठीको नाममा रहेको जग्गा भूमाफियाले व्यक्तिको नाममा सारेका हुन् । यस बीचमा करोडौंको आर्थिक चलखेल भएको उनको आरोप छ ।
स्थानीय डोमलाल राजवंशीले जोतभोग गर्दै आएको उक्त जग्गा २०२१ सालमा देवी गुठीलाई हस्तान्तरण गरिएको थियो । यसरी गुठीको नाममा आएको जग्गा २०५४ सालमा राज गुठीको नाममा ल्याइएको थियो । राजगुठीको नाममा कायम भएको जग्गाबाट काठमाडौं निवासी रमेश महर्जन र टिकादेवी विमलीको नाममा स्रेस्ता कायम गरिएको छ । स्मरणीय त के छ भने निज रमेश मर्हजनले उक्त क्षेत्रमा आउँदै नआई आफ्नो नाममा मोही हक कायम गरेका थिए । त्यस्तै विमलीले उपल्लो स्तरबाट आफना पंँहुच पुर्याएर जग्गा हडप्न लागेका खुलेको हो ।
गुठी संस्थानको जग्गा आफ्नो नममा सार्न महर्जनले जग्गा नै नदेखी आफ्नो नाममा मोही हक कायम गर्न सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । बिमली र महर्जनले गुठी संस्थानलाई विपक्षी बनाई दायर गरेको मुद्दामा सर्वोच्च अदालतले समेत गुठी संस्थानको जग्गा व्यक्तिको नाममा फैसला गरेको थियो । यही फैसला बोकेर जग्गा कायम गर्न आएका महर्जन र बिमलीलाई स्थानीयले लखेटेका थिए । स्थानीयले त्यसपछि जग्गाको स्वामित्व खोज्दै जाँदा रातारात व्यक्तिको नाममा धनिपुर्जा आएको भन्ने थाहा पाएका थिए । यसरी व्यक्तिको नाममा धनीपुर्जा आएपछि जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरुको समेत संलग्नता पाइएको थियो । खासगरी जिल्लाका नेपाली कांग्रेस, एमाले र एमाओवादीको नेतृत्वको समेत मिलेमोतो भएको स्थानीयले आरोप लगाएका छन् ।
यसरी गुठी संस्थानको जग्गा व्यक्तिको नाममा आएपछि राजनीतिक दलकै अगुवाईमा संघर्ष समिति समेत बनाइएको थियो । तर यसले पनि गति लिन सकेन । स्थानीय वासिन्दाले लखेटेपछि २०६६ साल फागुन ०९ गते सर्वोच्च अदालतले गरेको फैसला अनुसार जग्गा भोग्न पाएका छैनन् । यसरी जग्गा भोग्न नसकेपछि महर्जन र बिमलीले र्फैसला कार्यान्वयन गर्न पटक–पटक दवाव दिँदै आएका छन् । फैसला भए पनि जिल्ला नापी कार्यालय झापाले भने जानाजान गुठी संस्थानको जग्गा व्यक्तिको कायम गर्न नसकिने भन्दै मानेको छैन ।
पैसा र पहुँचका आधारमा गुठी सस्थानको जग्गा व्यक्तिको नाममा ल्याउन भूमाफिया ती गिरोहरुलाई कार्बाही गर्न स्थानीय वासिन्दाको जोडदार माग छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत विर्तामोडदेखि दुई किलोमिटर दक्षिण विर्तामोड–भद्रपुर सडक खण्डसँग जोडिएको उक्त जग्गाको हालको मूल्य प्रति कठ्ठा झण्डै एक करोड पर्छ ।