नेपालले रच्यो इतिहास

4 years ago Editor 0

टी–२० क्रिकेट विश्वकपमा विजयी सुरुवात

कमन देवान
नेपाल, दमक /

हङकङ विरुद्धको खेलमा छक्का प्रहार गर्दै उपकप्तान ज्ञानेन्द्र मल्ल ।
हङकङ विरुद्धको खेलमा छक्का प्रहार गर्दै उपकप्तान ज्ञानेन्द्र मल्ल ।

इतिहासमै पहिलो पटक टी–२० विश्वकप क्रिकेट खेलेको पुगेको नेपालले आइतबार हङकङ विरुद्धको खेलमा विजयी शुरुवात गर्दै इतिहास रचेको छ । नेपालले विश्वकप टी–२० प्रतियोगिताको पहिलो खेलमा हङकङविरुद्ध ८० रनको फराकिलो जित निकालेको हो ।
बंगलादेशको चिटगाउँस्थित अहम चोधरी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन जोडेको थियो । नेपालले खडा गरेको १ सय ५० रनको चुनौती सामना गर्ने क्रममा हङकङले १७ ओभर खेल्दै सबै विकेट गुमाएर ६९ रन मात्र बनाएको थियो ।
हङकङलाई सस्तैमा समेट्न नेपालका लागि शक्ति गौचन र बसन्त रेग्मीले ३–३ विकेट लिए भने सोमपाल कामी र जितेन्द्र मुखियाले १–१ विकेट लिए । चार ओभर बलिङ गर्दै ९ रन दिएर ३ विकेट लिएका गौचन म्यान अफ दी म्याच घोषित भए ।

शानदार चौका प्रहार गर्दै कप्तान पारश खड्का ।
शानदार चौका प्रहार गर्दै कप्तान पारश खड्का ।

नेपाली ब्याटिङको शुरुवाती कमजोरीलाई सुधार्दै कप्तान पारश खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ८० रनको साझेदारी गरे । ज्ञानेन्द्रले ४१ बलको सामना गरेर एक छक्का र चार चोका प्रहार गर्दै सर्वाधिक ४८ रन जोडेका थिए । त्यस्तै पारशले ३७ बलमा ४१ रन जोडे । नेपालका लागि सुवास खकुरेलले १६ बलमा २२ रन, सदर भेष्वाकरले ९ बलमा १४ रन जोडे भने सागर पुनले १३ बल खेलेर १३ रन जोडेका थिए । अन्य चार जना नेपाली खेलाडीले भने दाहोरो अङ्क जोड्न सकेनन् । नेपालले पहिलो इनिङको अन्तिम २० औं ओभरमा लगातार तीन विकेट गुमाएको थियो । ब्याटिङ अवधिमा हङकङको कमजोर फिल्डिङका कारण नेपाली खेलाडीहरुले पटक–पटक जीवनदान पाएका थिए ।

हङकङ विरुद्ध विकेट लिएपछि खुशी हुुँदै खेलाडीहरु ।
हङकङ विरुद्ध विकेट लिएपछि खुशी हुुँदै खेलाडीहरु ।

हङकङका बबर हयातले २५ बल खेल्दै सर्वाधिक २० रन जोडेका थिए भने वाकस बर्कतले १९ बल खेलेर १८ रन जोडे । त्यस्तै मार्क च्यापम्यानले १२ बल खेल्दै १३ रन जोडेका थिए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्कको स्कोर कायम गर्न सकेनन् ।
बलिङतर्फ हङकङका हसिव अम्जतले चार ओभरमा २५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए भने नदिम अहेमदले चार ओभरमा २६ रन खर्चेर २ विकेट लिएका थिए । नजीव अमरले तीन ओभरमा २९ रन खर्चेर १ विकेट लिएका थिए ।
टी–२० क्रिकेट विश्वकप प्रतियोगिता अन्तरगत समूह ‘ए’ मा नेपाल सहित हङकङ, बङ्गलादेश र अफगानिस्तान तथा समूह ‘बी’ मा आयरल्यान्ड, नेदरल्यान्ड, युएई र जिम्बाबे छन् ।
सन् २००७ देखि हुँदै आएको टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको यो पाँचौ संस्करण हो । प्रत्येक दुई वर्षमा हुने यो प्रतियोगितामा सन् २०१२ मा भएको विश्वकपको उपाधि वेस्टइन्डिजले हात पारेको थियो ।

आइसीसी टी‍‍‍‍ २० क्रिकेट विश्वकपको लोगो
आइसीसी टी‍‍‍‍ २० क्रिकेट विश्वकपको लोगो