गीतकारको सम्मानमा गीतकार तम्सिए

4 years ago Editor 0

अमेरिका, कोलोराडो
१४ मार्च /
आफ्नो निजी प्रयासमा ‘विश्व काव्य यात्रा’ को नारा लिएर संसारभर रहेका नेपाली समुदायमाझ आफ्ना काव्यिक सिर्जना (कविता, गीत, मुक्तक) पस्किने क्रममा कोलोराडो आइपुगेका कवि तथा गीतकार वसन्त चौधरीलाई अरोरा, कोलोराडो निवासी नेपालीहरुले साहित्यिक स्वागत गरेका छन् ।
आइतबारका दिन अरोरा स्थित इन्डिया क्युसाइन रेष्टुरेन्टमा अनेसासका निवर्तमान केन्द्रीय अध्यक्ष गीतकार ज्ञानेन्द्र गदालद्वारा चौधरीको सम्मानमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा स्थानीय नेपाली साहित्यकारहरुको प्रतिनिधि समूहको उपस्थिति रहेको थियो ।
भोलानाथ शिवाकोटी ‘पुरानाघरे’ ले सञ्चालन गरेको उक्त स्वागत सम्मान कार्यक्रममा रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष शरद आचार्यले – चौधरी एक व्यापारी घरानाको सदस्य भएर पनि नेपाली साहित्यको सेवामा लागेको भन्दै प्रशंसा गरेका थिए ।
भेलामा बोल्दै गीतकार वसन्त चौधरीले भने –‘विश्व काव्य यात्राको सिलशिलामा म संसारको जहाँ–जहाँ पुग्छु, यसरी नै नेपाली दिदी–बहिनी, दाजु–भाइहरूसँग बस्न पाएको छु, विदेशमा पाएको यस किसिमको माया र स्नेहले मलाई परिवारमै बसेको आभाष हुन्छ । यहाँहरुले दिनुभएको आतिथ्यप्रति म हार्दिक आभारी छु ।’
कार्यक्रम सञ्चालक पुरानाघरेले नेपाली साहित्यलाई गुणस्तरीय अनुवाद गर्ने माहोल निर्माणका कार्यमा आवश्यक लगानी गरिदिन चौधरी समक्ष आग्रह गरेका थिए ।
कार्यक्रममा पदम विश्वकर्मा, साबु कार्की र ज्ञानेन्द्र गदाल, कवि तथा चलचित्र निर्देशक राजेन्द्र सलभ, कलाकार कृष्णमुरारी ढुङ्गेल, राजेश र निर्मला गुप्ता लगायतको उपस्थिति रहेको थियो ।