गायनमा प्रविण

5 years ago Editor 0

prabin singing

भनिन्छ, कला, साहित्य, संस्कृति र तिनलाई पारख गर्ने मन र भावनाहरु कहिल्यै भौगोलिक सीमानाहरुले छेकिन्नन् । अनि यी मनहरु सदा स्वतन्त्र र उर्जावान हुन्छन् । सकरात्मक सोचको विकास गर्न प्रेरित र लालायित हुन्छन् । कलाको दायरालाई अरु फराकिलो बनाउने असंख्य स्रष्टाहरुको भिडमा एउटा सम्भावना बोकेर उदाएका गायक हुन् – प्रविण दियाली ।
प्रविण दियाली र उनको गायकीलाई पारख नगर्ने कमै होलान्, ज–जसले उनलाई भावसागरमा डुबल्की मार्दै गरेको देख्छन् र सुन्छन् । मतलवी दुनियामा उनी जस्ता प्रतिभाहरुको खोजी गर्ने समय त नहोला आजकलका मान्छेहरुलाई । तर, प्रविणको गायकीको कमाल भने धेरैका लागि मन पर्ने धुन बन्न सक्छ, सुर र लय बन्न सक्छ । भूटानी शरणार्थी परिचयका साथ झापाको बेलडाँगी शिविरमा २०५४ साल मंसिर ५ गते प्रविणले जन्म मात्रै लिएनन्, बाल्य अवस्थादेखि नै उनले शिविरका झुप्रा र बस्तीहरुमा अनि त्यहाँका एक–एक मन र मस्तिस्कहरुमा आफ्नो चमत्कारिक गला र कलालाई समेत तिखार्ने र निखार्ने काम गरे ।
बाल्यकालदेखि नै गायनलाई पछ्याएका उनले
‘बाल कोशेली भाग–१’ बजारमा ल्याउँदा उनको उमेर मात्र सात वर्षको थियो । त्यसयता यी किशोरले रजतपटको पाँचौं वार्षिक एवार्ड वितरण कार्यक्रममा कान्तिपुर टेलिभिजनबाट लाइभ प्रशारण भएको कार्यक्रममा गाएपछि त धेरैले उनको गायकी बारे चासो दिन थाले ।
हालसम्म नेपाल र भारतका विभिन्न एक सय बढी कार्यक्रमहरुमा स्टेज पर्फमेन्स गर्न पाएकोमा आफूलाई भाग्यमानी बताउने प्रविण हाल तेस्रो मुलुक पुनर्वास कार्यक्रम रोजेर परिवार सहित अमेरिका पुगेका छन् । त्यहाँ पनि उनले गायनलाई निरन्तरता दिने बताएका छन् ।
सन् २००९ मा शिविरमा संचालित गायन प्रतियोगितामा चाइल्ड स्टार बनेका प्रविणले प्रकाश आङ्देम्बे, यस कुमार, राजेश घतानी, डेजी बराइली, बाबु बागटी, अगम गुरुङ र नन्दीकिशोर शिवाकोटी लगायतलाई गायनमा लाग्नका लागि प्रेरणाको स्रोतका रुपमा मान्ने गरेको स्वीकार गरे ।
पछिल्लो एक साँझ स्काइपमा कुराकानी गर्दै प्रविणले भने –‘जहाँ जाँदा पनि मैले नेपाली कला, संस्कृति, साहित्य र नेपालीपनलाई भूल्न सकेको छैन । नेपालबाट टाढा आएपछि अरु बढी नेपालीपनको अभावमा पिरोलिन थालेको छु ।’