खुला दिसामुक्त अभियान प्रभावकारी बन्दै

5 years ago Editor 0

राम योङ्हाङ
नेपाल, इलाम
१ मार्च /

हालसालै आफूले निर्माण गरेको मापदण्डयुक्त चर्पी देखाउँदै इभाङ्ग–९ का हर्कबहादुर लिम्बू ।  फोटो राम योङ्हाङ ।
हालसालै आफूले निर्माण गरेको मापदण्डयुक्त चर्पी देखाउँदै इभाङ्ग–९ का हर्कबहादुर लिम्बू । फोटो राम योङ्हाङ ।

जिल्ला विकास समिति इलामले चर्पी नबनाउने घरधुरीलाई सबै प्रकारको सरकारी सेवा सुविधा रोक्ने निर्णय गरेपछि खुला दिसामुक्त अभियान प्रभावकारी बन्दै गएको छ ।
जिल्लामा धमाधम चर्पी बन्न थालेका छन् । निर्णयपछि जिल्लाका सबैजसो गाविसमा चर्पी निर्माणको काम तीब्र रुपमा भइरहेको छ । हालसम्म छ वटा गाविसहरु खुला दिसामुक्त घोषणा भइसकेका छन् । आधा दर्जन गाविसहरु तत्काल खुला दिसामुक्त घोषणाको तयारीमा छन् ।
आगामी चैत्र मसान्तसम्ममा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्यका साथ जिविसले यस्तो निर्णय गरेको हो । निर्धारित समयमै जिल्लालाई खुला दिसामुक्त बनाउन दवाव दिने उद्देश्यले यस्तो निर्णय गरिएको स्थानीय विकास अधिकारी मदन कोईरालाले बताए । ‘अभियानलाई सफल पार्न चर्पी भएका घरपरिवारलाई सरसफाई परिचय–पत्र दिईएको छ’, उनले भने –‘जसले त्यो परिचय–पत्र लिएर सम्बन्धित कार्यालयमा काम गर्न जान्छ उसको काम हुन्छ । परिचय–पत्र बिना जानेको कुनै पनि कार्यालयमा काम हुँदैन ।’
अहिले खुला दिसामुक्त अभियान चलिरहेका ४० गाविस र एक नगरपालिकाले चर्पी नबनाएका घरधुरीलाई सेवा सुविधा रोकेका छन् । ती गाविस र नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न जिविस, गाविस, खानेपानी महासंघ र सरोकारवालाहरु अभियान सञ्चालन गरेर लागि परेका छन् । गाविसहरुले ‘सेवाका लागि चर्पी अनिवार्य’ भन्ने दवावमूलक कार्यक्रम गरिरहेका जिल्ला सहजकर्ता राम रिमालले जानकारी दिए ।
ती गाविसहरुले चर्पी नहुने घरका कसैलाई पनि नागरिकता लगायत अन्य प्रमाण–पत्रको सिफारिस, जन्म, मृत्यु, बसाई सराई, विवाह दर्ता, सामाजिक कार्यक्रम अन्तरगत वृद्धवृद्धा, एकल, दलित, लोपोन्मुख भत्ता लगायतका सुविधा सेमतमा रोक लगाएका छन् ।
‘स्वस्थ, स्वच्छ र समृद्ध इलाम’ भन्ने परिकल्पनालाई साकार बनाउन स्वास्थ्य, सरसफाई लगायतका कुरामा पनि ध्यान दिनुपर्ने स्थानीय विकास अधिकारी कोईरालाले बताए । कोइरालाले भने –‘मापदण्डको चर्पी नबनाएका घरका सदस्यलाई सरकारी सुविधा दिन नसकिने निर्णय १९ आंै जिल्ला परिषदबाट नै भइसकेको थियो । अहिले कडाईका साथ कार्यान्वयन गरिएको मात्र हो ।’ सुविधा लिन गाविस वा नगरपालिका कार्यालय पुगेका बासिन्दालाई चर्पी बनिएपछि मात्र सुविधा पाउनेगरी फर्काइने गरिएको छ ।
दवावमूलक कार्यक्रम शुरु भएपछि हालसम्म छ वटा गाविस खुला दिसामुक्त भइसकेका छन् । साँखेजुङ, नामसालिङ, माईमझुवा, बरबोटे, शान्तिडाँडा र सुम्बेक गाविस खुला दिसामुक्त भइसकेका छन् । पुवामझुवा फागुन १८ र माईपोखरी गाविस १९ गते खुला दिसामुक्त घोषणा हुने भएका छन् । प्याङ्ग, जमूना, माबु, इभाङ र गजुरमुखी फागुन मसान्तसम्ममा खुला दिसामुक्त घोषणा हुने तयारीमा छन् । ती गाविसहरुले एक घर एक चर्पी अभियानलाई कडाईका साथ सञ्चालन गरिरहेका छन् ।
यसैबीच इभाङ गाविसले खुला दिसामुक्त अभियानलाई प्रभावकारी बनाउन खुला दिसा पुर्ने अभियान नै चलाएको छ । मापदण्डको चर्पी निर्माण गरी प्रयोग गर्ने बानीको विकास गराउन यस्तो अभियान शुरु गरिएको गाविस सचिव डाकबहादुर घतानीले जानकारी दिए । अभियान अन्तरगत परम्परागत तथा खाल्डे चर्पी पुर्ने, खोल्साखोल्सी तथा खुला ठाउँको दिसा छोप्न थालिएको छ ।
गाविसको एक हजार ७० घरधुरी मध्ये हालसम्म नौ सय घरमा मापदण्डको चर्पी बनिसकेको छ । बाँकी एक सय ७० घरधुरीमा धमाधम चर्पी निर्माण भइरहेको गाविसले जनाएको छ ।