सडक पूर्वाधार जोगाउन वृक्षारोपण

4 years ago Editor 0

नेपाल, माङसेबुङ
२१ फेब्रुअरी /

bhu chaya photo

दमक–चिसापानी–रवि सडक (फाल्गुनन्दमार्ग) मा हुने भू–क्षय तथा दुर्घटना न्यूनीकरणका लागि इलामको बाँझो–८ मा वृक्षारोपण अभियानलाई तिव्रता दिइएको छ ।
पछिल्लो दुई वर्षयता फाल्गुनन्दमार्ग भू–क्षय संरक्षण समिति बाँझोले सडकको दुवै किनारामा वृक्षा रोपणको कार्यक्रमलाई तिव्रता दिँदै आएको हो । सो बारे संस्थाले हालै एक कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो ।
गत बुधबार प्रजातन्त्र दिवशको अवसरमा आयोजित प्रथम दिवशीय अवलोकन तथा समीक्षात्मक कार्यक्रममा संस्थाले वृक्षारोपण गरेको स्थलमा अवलोकन गराउँदै भावी कार्यक्रम बारे जानकारी गराएको हो ।
दुईवर्ष अघिदेखि भू–क्षय रोक्न र सडक दुर्घटनाको जोखिम न्यूनकिरण गर्न भन्दै करिब दुई किलोमिटर क्षेत्रमा समितिले बाँस, आँप, लिची, कटहर, गोब्रे सल्ला, टिक, सिमली आदि प्रजातिका रुख बिरुवा रोप्न शुरु गरेको हो ।
सो कार्यक्रममा प्रमुख अतिथि रहेका बाँझो गाविसका सचिव यज्ञनिधि पौडेलले सडक संरचनालाई ध्यानमा राखेर थालिएको वृक्षारोपण र बिरुवाहरुको उचित संरक्षणको कार्य प्रभावकारी भएको बताए ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि समेत रहेका दमक–चिसापानी–रवि सडक (फाल्गुनन्दमार्ग) निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेश सुब्बाले सडक संरचनाको संरक्षणका लागि थालिएको प्रयास प्रशंसनीय रहेको भन्दै समितिका तर्फबाट सक्दो सहयोग हुने बताए ।
कार्यक्रमका दौरान सडक निर्माण कार्यमा ढिलाई भएको, सडकबाट नभई बगरमा गाडी गुडिरहेको, वर्षायाम लागेपछि यातायात आवगमन ठप्प हुँदा सास्ती भोग्नु परेको जस्ता गुनासा सुनेका अध्यक्ष सुब्बाले भने –‘सडक पूर्वाधारसँग जोडिएका थुप्रै गुनासोहरु आए । यसले समितिलाई थप जिम्मेवार बन्न सुझाव मिलेको छ ।’ उनले थपे –‘धेरै कुरो गर्दिनँ । यति भन्छु, अबको दुई वर्षभित्रमा यो सडकमा तपाई–हामीले जुनसुकै याममा पनि यात्रा गर्न पाउँने छौं ।’
कार्यक्रममा बोल्दै किरात आङ्सी माङ्गेना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङले किरात धर्मगुरु आत्मानन्द लिङ्देनबाट र किरात धर्मावलम्बीहरुबाट यो सडक निर्माणका लागि सदैव पहल भइरहेको बताए ।
कार्यक्रममा बोल्दै सडक निर्माण उपभोक्ता समितिका सचिव प्रकाश बुढाथोकीले माङसेबुङ क्षेत्र र फाल्गुनन्दमार्ग धार्मिक र आध्यात्मिक महत्वको विषय भएकाले यसलाई किरात धर्मावलम्बीहरुको केन्द्रविन्दुका रुपमा विकास गरिन जरुरी भएको बताए ।
कार्यक्रममा बोल्दै संघीय प्रेस युनियनका केन्द्रीय सदस्य कमन देवानले वर्षयाममा सडक आवगमनको अभावमा प्रसुति सेवा नपाएर महिलाहरुले ज्यान गुमाउन वाध्य हुनुपर्ने अवस्थाको अन्त्य नभएसम्म यस भेगमा जनताका लागि जतिसुकै प्रजातन्त्र दिवश मनाइए पनि उनीहरुको प्रजातान्त्रिक अधिकार सुरक्षित नभएको तर्क गरे ।
कार्यक्रममा संघीय समाजवादी पार्टीका बाँझो अध्यक्ष केबी रुछेन्बुङ, नेपाली कांग्रेसका प्रतिनिधि चन्द्रकुमार साँवा, माङ्गेना सेवा समितिका महासचिव होम लिङ्देन, नालिफुङवाका सचिव गुल्सन आङबुहाङ लगायतले बोलेका थिए ।
सो कार्यक्रमका अवसरमा भू–क्षय संरक्षण समितिले गरेको वृक्षारोपणको स्थलगत अवलोकन समेत गरिएको थियो भने हालसम्म विभिन्न दुई हजार प्रजातिका बोटबिरुवा रोपिएको र निरन्तर रेखदेख गर्दै आएको समितिका अध्यक्ष आइतराज साम्बाले जानकारी दिएका थिए ।
संस्थाका सचिव छत्र सावदेनको सञ्चालन रहेको कार्यक्रममा कोषाध्यक्ष राजन लावतीले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने स्वागत सह–सचिव विदुर नेम्बाङको रहेको थियो ।

P1100160

P1100169