जीवन भर सङ्गीत भन्दा टाढा रहन सक्दिनँ : झुमा

5 years ago Editor 0

स्रष्टा वार्ता

jhooma

झुमा लिम्बू, नेपाली सुगम सङ्गीतका लागि आशलाग्दो प्रतिभाको नाम हो । सङ्गीत सिक्नका निम्ति चन्द्रकुमार श्रेष्ठलाई गुरु मानेकी झुमाले बिगत २०६० सालदेखि वरिष्ठ सङ्गीतकार अम्बर गुरुङसँग सङ्गीत सिकिरहेको बताउनु हुन्छ ।
२०६० सालमा आफ्नो ‘ए साइँला !’ गीति एल्बम मार्फत नेपाली साङ्गीतिक क्षेत्रमा डेव्यु गरेपछि पुनः भर्खरै झुमाको दोस्रो सोलो एल्बम ‘अम्बर सङ्गीत’ बजारमा आएको छ । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङका शव्द र सङ्गीत रहेका गीतहरु समेटिएका यस एल्बममा आफूले सकेसम्म शव्द र सङ्गीतलाई न्याय गरेको उहाँको भनाई छ । यिनै सेरोफेरोमा रहेर ‘सुगम सङ्गीत’का लागि निरन्तर साधना गरिरहनु भएकी झुमासँग भूटान दर्पणका लागि गरिएको स्रष्टावार्ता :

  • सङ्गीत क्षेत्रमा कसरी लाग्नु भयो ?

मूलतः म सानैदेखि गुनगुनाउथेँ । स्कूलहरुमा गीत गाएर फष्ट हुन्थेँ । सबैले तेरो स्वर राम्रो छ भनेर फुर्काउँथे । मलाई पनि हो कि जस्तै लाग्थ्यो । त्यसैले गीत सङ्गीत तिरै लाग्ने मन आयो । अन्ततः यही क्षेत्रमा केही गरौं भनेर लागेकी हुँ ।

  •  सुगम सङ्गीतलाई त अहिलेको कमर्शियल सङ्गीतले उछिन्यो नि । के भन्नु हुन्छ ?

– सुगम सङ्गीतलाई कमर्शियल सङ्गीतले उछिन्यो भन्नु भन्दा पनि बिगतमा र अहिले प्रविधिका कारण भिन्नता छ । त्यसो भएकाले आजकल अलि बढी कमर्शियल गीत सङ्गीतले अग्रता लिएको मान्नुपर्छ । तर, सुगम सङ्गीतलाई नै उछिन्यो वा छायाँमा पार्यो भन्न चाँहि मिल्दैन । किनकि सुगम सङ्गीतको तहमा कमर्शियल सङ्गीतलाई दाँज्न मिल्दैन । सुगम सङ्गीत त अनन्तकाल सम्मका लागि रहिरहन्छ ।

  • सुगम सङ्गीतमा मात्रै लागेर बाँच्न सकिने आधार छ त ?

उत्तर – कुनै क्षेत्रमा योगदान दिन्छु भनेर लागिसकेपछि त्यसले पाल्छ कि पाल्दैन भन्नु भन्दा पनि कतिधेरै योगदान दिन सक्छु भनेर सोच्नु महत्वपूर्ण हुन्छ । सुगम सङ्गीत रोजेर लाग्नु भनेको सङ्गीतको उत्थानका लागि योगदान दिन्छु भनेर आँट गर्नु हो । यथार्थमा भन्दा गुणस्तरीय काम गरेर आर्थिक रुपले बाँच्न सजिलो पक्कै छैन । हिम्मत नहुनेहरुले आत्माहत्या पनि गर्न सक्छन् । म चाँहि त्यति कमजोर छैन ।
प्रश्न – दश वर्षअघि ‘ए साइँला !’ एल्बम निकाल्नु भो, त्यपछि अहिले भर्खरै ‘अम्बर सङ्गीत’ बजारमा ल्याउँदै हुनुहुन्छ । किन यति लामो ग्याप ?
उत्तर – मैले आफ्नो पहिलो एल्बमबाट अपेक्षा गरे भन्दा पनि राम्रो रेस्पोन्स पाएकी थिएँ, त्यसलाई म कहिल्यै भूल्न सक्दिनँ । ‘ए साइँला’ एल्बममा आठ वटा लोक बेसमा आधुनिक गीतहरु समेटिएका थिए । जसले मलाई नेपाली साङ्गीतिक क्षेत्रमा स्थापित नै गर्यो । तर, निरन्तर सङ्गीत साधनामा लाग्ने क्रममा त्यो एल्बम हत्तारमा, थुप्रै त्रुटिका साथ आएछ भन्ने लाग्यो । त्यसैले अरु थुप्रै मेहनत गरेर मात्र एल्बम गर्ने सोच भएकाले पनि समय अलि बढी लागेको हो ।

  • वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको शव्द–सङ्गीतमा नयाँ एल्बम ‘अम्बर सङ्गीत’ ल्याउनु भो । यसबाट कस्तो अपेक्षा गर्नुभएको छ ?

गुरु (अम्बर गुरुङ) बाट मैले १० वर्षसम्म सङ्गीत सिक्ने क्रममा धेरै कुरा सिकेकी छु । सबै भन्दा धेरै त सङ्गीतका लागि कडा अनुशासन, आत्मविश्वास र धैर्यता महत्वपूर्ण हुन्छ भन्ने सिकेकी छु । उहाँले कमैलाई मात्रै आफ्नो गीत सङ्गीत गाउन दिनु हुन्छ । मैले सौभाग्यले त्यो अवसर पाएकी छु । यो एल्बममा उहाँका चार ओटा शव्द–सङ्गीत समेटिएका गीतहरु छन् भने रत्न समशेर थापाको एउटा गीतमा उहाँको सङ्गीत छ । त्यस्तै उपेन्द्र सुब्बाको गीतमा पारस मुकारुङको सङ्गीत रहेको अर्को गीत छ । अवसर नै भन्नु पर्छ कि मैले आफू भन्दा जेठो गीतहरु गाउने सौभाग्य पाएकी हुँ । सबै गीतहरु सुगम सङ्गीतको संरक्षण र प्रवद्र्धनका लागि टेवा दिन सक्ने बनेका छन् भन्ने लाग्छ । मैले यो एल्बम सुगम सङ्गीतलाई मनैदेखि स्पर्श गर्न सक्ने स्रोताहरुका निम्ति ल्याएकी हुँ । त्यसो भएकाले उहाँहरुसम्म पुगेर यो एल्बमका गीतहरुले दीर्घकालीन छाप छाड्ने छ भन्ने अपेक्षा लिएकी छु ।

  •  नयाँ एल्बमको अतिरिक्त अरु योजना के छन् ?

योजना भन्नु भन्दा पनि म अब जीवनभर सङ्गीत भन्दा पर र टाढा रहन सक्दिनँ । त्यसो भएकाले जे जति सक्छु र गर्छु, नेपाली सङ्गीतको विकासका लागि नै गर्छु । अब लगत्तै ‘अम्बर सङ्गीत भाग–२’ बजारमा ल्याउने योजना छ । त्यस्तै, म लिम्बू जातिलाई प्रतिनिधित्व गर्ने भएकीले पनि लिम्बू जातिमा सांस्कृतिक पक्षले खेल्ने महत्वका बारेमा विशेष खोजी र अध्ययन गर्ने मेरो लक्ष्य छ । मैले सृष्टि मुन्धुम भन्दा यता पालाम्, हाक्पारे लगायत (लिम्बूहरुको गायन पद्धति बारे) लिम्बू जातिसँग जोडिएको सांस्कृतिक पक्षको विकासका बारेमा सक्दो खोजी पनि जारी राखेकी छु । केही दिनमै यस सम्बन्धमा खोजपूर्ण सिडी र पुस्तिका समेत ल्याउने जमर्को गरिरहेकी छु । लिम्बू र नेपाली भाषामा तयारी भएर अहिले अङ्ग्रेजी भाषामा अनुवाद भइरहेको छ । निकट भविष्यमै त्यो तपाईहरुको हातमा आइपुग्ने छ । र, आशा गरेकी छु, नेपाली सङ्गीतको मौलिकतामा यस कार्यले अरु महत्व राख्ने छ ।

  •  तपाईहरु भन्दा पछिल्ला पुस्ताका युवाहरु सङ्गीतका क्षेत्रमा निक्कै झुम्मिएर लागेका छन् । उनीहरुलाई के सुझाव दिन चाहनु हुन्छ ?

मुख्य कुरो, तपाई सङ्गीतमा लागेर नाम कमाउने, दाम कमाउने, नारायण गोपाल जस्तो वा यो, त्यो जस्तै गाउँछु भनेर लाग्नु भएको छ भने त्यो गतल हो । तपाईले तपाई हुनका लागि सङ्गीतलाई सिक्नुहोस्, बुझ्नुहोस् । पहिले राम्ररी सङ्गीत सक्निुहोस्, यसको गहिराईलाई बुझ्नुहोस् अनि कुन बाटोमा लाग्दा हुन्छ आफै रोज्नुहोस् । गायकी वा स्वर राम्रो हुँदैमा केही हुँदैन । सर्वप्रथम सङ्गीतमा वाध्यवाधनका बारेमा बुझ्नु पर्ने थुप्रै कुराहरु छन् । नोटेशनलाई बुझ्न सक्नु पर्दछ । अनि बल्ल तपाईलाई सङ्गीतको बिऊ प्राप्त हुन्छ । किसानसँग बिऊ नै भएन भने उसको जतिसुकै मेहनत गरे पनि बाली त पाक्दैन । सङ्गीतमा पनि पूर्ण रुपले जानकार नभई काम गर्दा सफलता प्राप्त हुन्छ भन्ने लाग्दैन । तपाईसँग राम्रो स्वर छैन भने सङ्गीतका अन्य पाटोमा पनि राम्ररी काम गर्न सक्नु हुन्छ । तर, आत्मविश्वास र धैर्यतालाई चाँहि मन्त्र मान्न भूल्नु हुँदैन ।