‘संविधान भन्दा पनि दिगो शान्ति महत्वपूर्ण’

4 years ago Editor Comments Off on ‘संविधान भन्दा पनि दिगो शान्ति महत्वपूर्ण’

नेपाल, झापा
१५ फेब्रुअरी /

P1100109

सामान्य वा दुई तिहाई बहुमतले संविधान जारी गर्ने वा नगर्ने विषय भन्दा संविधानसभा मार्फत पहिचान सहितको संघीयता कायम भएर दिगो शान्ति र विकास प्राप्त हुने वा नहुने विषय प्रमुख रहेको संघीय समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङले बताएका छन् ।
पूर्व शान्ति मन्त्री समेत रहेका नेता चेम्जोङले विभिन्न किसिमका विभेद्हरुको अन्त्यका लागि संघीय इकाईहरुको निर्माण अपरिहार्य भएको र यसले मात्रै स्थायी शान्ति र विकासलाई टेवा दिने दावी गरे ।
शनिबार झापाको दमकमा पार्टीको भातृ संगठन अग्रगामी विद्यार्थी युनियनको लिम्बुवान प्रदेश समितिको दुई दिने बैठकको उद्घाटन गर्दै चेम्जोङले सो बताएका हुन् ।
विद्यार्थीहरु जुनसुकै परिवर्तनका निम्ति सम्बाहक हुने भन्दै चेम्जोङले अग्रगामी विद्यार्थी युनियनले मुलुकको अग्रगमन सहितको संघीय र व्यवहारिक शिक्षा प्रणालीका निम्ति आन्दोलित बन्नु पर्नेमा जोड दिए ।
अग्रगामी विद्यार्थी युनियन लिम्बुवान प्रदेश समितिका संयोजक सञ्जय राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय विश्वदीप लिङ्देन र मानबहादुर सारु मगर, झापा जिल्ला अध्यक्ष धिरेन लावती, उपाध्यक्ष तथा विद्यार्थी विभाग प्रमुख दिपेन बाला राई, अग्रगामी विद्यार्थी युनियनका केन्द्रीय सचिवालय सदस्य विशाल आङ्देम्बे, संघीय प्रेस युनियनका केन्द्रीय सदस्य कमन देवान लगायतले आगामी स्ववियू निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली स्थापित गराउन संगठनले आन्दोलित हुने पर्ने तथा संगठन निर्माण र परिचालनमा विशेष जोड दिनुपर्ने सुझाएका थिए ।
बैठकमा झापा, इलाम, पाँचथर लगायत पूर्वका प्रस्तावित नौ जिल्लाका संगठन प्रमुख तथा उपलब्ध केन्द्रीय सदस्यहरुको सहभागिता रहेको संयोजक राईले जानकारी दिए । बैठकले प्रदेश सम्मेलन, स्ववियू निर्वाचन लगायतका विषयमा छलफल र निर्णय गर्ने बताइएको छ ।