तीन सय ६५ वटा सहकारीले प्रतिवेदन बुझाए

4 years ago Editor 0

नेपाल, इलाम
१५ फेब्रुअरी/

डिभिजन सहकारी कार्यालय इलाम अन्तरगत तीन सय ६५ वटा विभिन्न प्रकृतिका सहकारी संघसंस्थाहरुले चालु आर्थिक वर्षको पहिलो छ महिनामा साधारणसभा र लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् ।
कार्यालयका अनुसार इलामका तीन सय, पाँचथरका ४४ र ताप्लेजुङ जिल्लाका २१ वटा सहकारीहरुले मात्रै समयमै प्रतिवेदन बुझाएका हुन् । गत साल यस अवधिमा दुई सय १९ वटा सहकारीले मात्र प्रतिवेदन बुझाएका समेत कार्यालयले जनाएको छ ।
विगतमा ऐन नियम र मापदण्ड वमोजिम समयमा प्रतिवेदन नदिने सहकारी संस्थाहरुलाई कार्यालयले दण्ड जरिवाना मार्फत सजग गराएपछि यस आर्थक वर्षमा उल्लेख्य मात्रामा प्रतिवेदन आएको हो । यसका अलावा सहकारी शिक्षाको सकारात्मक प्रभाव, सहकारी संघहरुको समन्वयकारी भूमिका र जिल्लामा सहकारी विकास र प्रवद्र्धनको क्षेत्रमा काम गरिरहेका गैहसरकारी संस्थाको सकृयताका कारण प्रतिवेदन बुझाउने सहकारीहरुको संख्या वृद्धि भएको डिभिजन सहकारी कार्यालय इलामका सहकारी अधिकृत माधवप्रसाद पोखरेलले जानकारी दिए ।
सहकारी ऐन २०४८ अनुसार सहकारी संघसंस्थाहरुले पौष मसान्तभित्र साधारणसभा गरिसक्नुपर्ने हुन्छ । सहकारी विभागले २०६८ मा जारी गरेको सहकारी मापदण्डले भने सहकारी संस्थाले आश्विन मसान्तभित्र साधारणसभा सम्पन्न गरी आर्थिक विवरण डिभिजन सहकारी कार्यालयमा पेश गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।
अधिकृत पोखरेलका अनुसार जिल्लाहरुमा सहकारी स्थापना गर्ने दरमा समेत हाल सुस्तता आएको छ । विगतमा एउटै आर्थिक वर्षमा एक सय वटा बढी सहकारी दर्ता भएकोमा चालु आवको पहिलो छ महिना अवधिमा तीन जिल्लामा २८ वटा मात्र सहकारी संस्था दर्ता भएका छन् । उनका अनुसार एउटै गाविसमा धेरै संस्था स्थापना भई काम गरिरहेका र सहकारी अभियानलाई प्रभावकारी र व्यवसायिक बनाउन सहकारीकर्मीमा एकिकरण कार्यको चेतना विस्तार हुँदै गएकाले पनि सहकारी दर्तामा कमी आएको हो ।
डिभिजन सहकारी कार्यालय इलामको क्षेत्राधिकार भित्र हालसम्म आठ सय ४७ वटा सहकारी संघसंस्था स्थापित भई सञ्चालनमा रहेका कार्यालयले जनाएको छ । जस मध्ये इलाम जिल्लामा पाँच सय १८, पाँचथर जिल्लामा दुई सय आठ र ताप्लेजुङ जिल्लामा एक सय २६ वटा सहकारी संघसंस्था सञ्चालित छन् ।