अतिथि सदन निर्माणका लागि पहल थालियो

4 years ago Editor 0

नेपाल, झापा
१५ फेब्रुअरी /

main news photo
झापाको दमक–१२ स्थित पुशहाट क्षेत्रमा निर्माण थालेसँगै निर्माणस्थल स्थानतरण गर्नुपर्ने माग सहित विरोध गरिएका कारण अलपत्र बनेको दमक अतिथि सदनलाई स्थानतरण गरेर निर्माण सम्पन्न गर्ने बारे हालै दमक उद्योग बाणिज्य संघले पहल थालेको छ ।
बाणिज्य संघले अतिथि सदन निर्माण बारे आयोजना गरेको अन्तरक्रियामा बोल्दै दमक अतिथि सदन निर्माण उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर भट्टराईले आफूहरुले निर्माण थाले पनि अतिथि सदन पशुहाट क्षेत्रमा बन्न नहुने अडान राखेर केही संगठनहरुको विरोध गरेका कारण निर्माण कार्य रोक्नु परेको बताए ।
उनले भने –‘शुरुका दिनमा हामीबाट पनि पर्याप्त बुझाउने काम भएन होला । विरोध गर्ने संगठनका मित्रहरुले पनि राम्रैका लागि विरोध गुर्नभयो होला भन्ने ठान्छु । तर जे भए पनि अब दमक उद्योग बाणिज्य संघले अतिथि सदनको निर्माणका लागि नीतिगत निर्णयका साथ लागेमा यो कार्य सम्भव हुने मेरो विश्वास रहेको छ ।’ अध्यक्ष भट्टराईले दमक क्षेत्रका लागि अतिथि सदन अपरिहार्य बनिसकेको समेत जिकिर गरे ।
कार्यक्रममा बोल्दै सो समितिका कोषाध्यक्ष रोमनाथ ओलीले समितिले अधुरो काम दमक उद्योग बाणिज्य संघलाई जिम्मा लगाएर भाग्न खोजेको होइन भन्दै थपे –‘विधि र प्रक्रिया पुर्याएर थालिएको काममा पर्याप्त अन्तरक्रिया नहुँदा काम गर्न सकिएन । त्यसैले यसलाई स्थानतरण गरेर भए पनि सम्पन्न गरौं भनेर बाणिज्य संघ जस्तो निर्वाचित संस्थामार्फत काम गरौं भनिएको हो ।’
दमक उद्योग बाणिज्य संघले इलम प्रशिक्षण केन्द्रका लागि दाताबाट दमक–१३ मा प्राप्त जग्गा सदुपयोग गर्नका लागि अघिल्लो कार्य समितिको बैठकमा पार्टी प्यालेस निर्माणको प्रस्ताव पारित गरिएको स्मरण गराउँदै अध्यक्ष प्रकाश प्रसाईले भने –‘इलम प्रशिक्षण केन्द्रका लागि भनेर दाताबाट प्राप्त भएको जग्गालाई उपयोग गरेर अतिथि सदन निर्माण गर्न सकिन्छ । तर, यसमा सबैको साथ र सहयोग आवश्यक छ ।’ सबैको साथ र सहयोग मिले बाणिज्य संघले अतिथि सदन निर्माणका लागि पछि नहट्ने उनको भनाई थियो ।
उक्त कार्यक्रममा बोल्दै दमक अतिथि सदन निर्माण उपभोक्ता समितिका उपाध्यक्ष घनेन्द्र याङ्याले दमक नगरपालिका र तत्कालीन राजनीतिक संयन्त्रले नै अतिथि सदन निर्माणका लागि समिति गठन र जग्गाको स्वीकृति पनि दिएको र संयन्त्रभित्रैबाट निर्माण कार्यको समेत अवरोध गर्ने काम भएको आरोप लगाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका दमक नगर अध्यक्ष प्रविण चाम्लिङले पार्टीका तर्फबाट अतिथि सदन निर्माणका लागि आवश्यक सहयोग हुने प्रतिवद्धता व्यक्त गरे भने नेपाली कांग्रेसका नगर सभापति ढुण्डीराज भण्डारीले दमक उद्योग बाणिज्य संघका तर्फबाट निर्माण कार्य अघि बढाउने बारे स्पष्ट धारणा अघि आउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा दमक नगरपालिकाका इन्जिनियर तीर्थनारायण श्रेष्ठले अतिथि सदन निर्माणका लागि दमक नगरपालिकाका तर्फबाट आवश्यक सबै किसिमको सहयोग हुने बताए । त्यस्तै ध्रुवतारा स्पोर्टिङ क्लवका अध्यक्ष कमल कटुवालले पुशहाट क्षेत्रमा खेलकुदको प्रयोजनका लागि रङ्गाशाला निर्माण हुनुपर्ने अडान विगतमा पनि राखेको निरन्तर अडान राखिने बताए ।
कार्यक्रममा आफ्ना धारणा राख्ने अधिकांशले दमक उद्योग बाणिज्य संघको अगुवाईमा स्पष्ट खाका सहित पूरानो समितिलाई समेत साथमा लिएर इलमका लागि प्राप्त जग्गामा नै अतिथि सदन निर्माण कार्य अघि बढाउनु पर्ने बताएका थिए ।

यसरी रोकिएको थियो निर्माण कार्य

पाँच वर्षअघि अतिथि सदन निर्माणार्थ एक पूराणको आयोजना गरेपछि सोका लागि आवश्यक जमिनका जोहो गर्ने क्रममा तत्कालीन अवस्थामा दमक नगरपालिका र राजनीतिक संयन्त्रले दमकको पशुहाट क्षेत्रमा अतिथि सदनका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेसँगै दमक अतिथि सदन निर्माण उपभोक्ता समितिका तर्फबाट निर्माण कार्य थालनी भएको थियो ।
तर, पशुहाट क्षेत्रको पूर्व उत्तरतर्फ थालिएको सो निर्माण कार्य तत्काल रोक्नु पर्ने माग राख्दै नेपाल आदिवासी जनजाति महासंघले आन्दोलनको कार्यक्रम घोषणा गर्दै कालो झण्डा गाढेपछि निर्माण कार्य रोकिएको थियो ।
महासंघले सो क्षेत्रलाई बाल उद्यान र ग्रिनरी पार्कका रुपमा विकास गर्न र हरित क्षेत्र निर्माणका लागि उपयोग गर्नुपर्ने भन्दै निर्माण अन्यत्र सार्न माग गरेको थियो ।
त्यस्तै दमकस्थित ध्रुवतारा स्पोर्टिङ्ग क्लवले समेत अतिथि सदन अन्यत्र सार्नुपर्ने र सो स्थानमा रङ्गशाला निर्माण गर्ने तथा प्रकोप जन्य खतरालाई मध्यनजर गरेर खुला राखिनुपर्नेमा जोड दिँदैआएको थियो ।
हाल सो क्षेत्रमा निर्माण कार्य थालनी गर्दा गाडिएका पिलरका रडहरु खिया लगेका छन् भने केही निर्माण सामग्री भण्डारण गरेर राखिएको छ । सो निर्माणका लागि ल्याइएका इट्टा, ढुङ्गा भने लामो समय उपयोग नहुँदा चोरी भएका समितिले जनाएको छ । पुराण लगाउँदाका समय दाताहरुले कबोलेको रकम पनि निर्माण कार्य अघि नबढेकाले उठाउन नसकिएको बताइन्छ ।