काठमाडौंलाई सलाम

4 years ago Editor 0

(कविता)
–अभागी थेगुबा

 

ABHAGI THEGUBA

काठमाडौं…….!
आखिर काठमाडौं नै रहेछ !!
उसँग एकपल्ट भेट्ने रहर
दाहोरो चिनजान गर्ने इच्छा
मसँग नभएको कहाँ हो र ?
तर गुनासाका बिस्कुन लगाउन
चार भञ्जाङ कट्न सकिएन
उसले पक्कै चिन्दैन होला
नचिनोस्, नचिने पनि
त्यो काठमाडौंलाई सलाम छ
लुङ्गा ! नबिर्सी सुनाइ दिनुहोला !

काङ्सोरेहरुलाई इतिहासमा भेटिनु पर्छ,
बिसे नगर्चीहरुले शीर उठाउन पाउनु पर्छ,
इतिहास जित्नेकै लेखिए पनि
जिताउनेहरु नबिर्सौं भनेको हुँ
यता उभिएको फक्ताङलुङसँगै
उता दोधारा र चाँदनी पनि त
हाम्रै नै हो भन्न खोजेको हुँ,
तर चार घेराभित्र हराएर आफूअघि ठडिएको धरहरा
मात्र अन्तिम उचाई हो ठानेर
उसले अन्यथा साच्दै होला
जे सुकै सोचे पनि
त्यो काठमाडौंलाई सलाम छ
लुङ्गा ! नबिर्सी सुनाइ दिनुहोला !

रोदी र बालनसँगै–
पालाम र घाटुसरी गाइनुपर्छ,
हुर्रा र देउडीसँगै–
चण्डी र झिझिया नाचिनुपर्छ,
शक्तिको पूजा गरिए पनि
निमुखाहरु नमिचिउन् भनेको हुँ,
सगरमाथाको उचाईसँगै
केचनाको गहिराईले
पशुपतिको भजनसँगै
सिलौतीको एकतारेले
दाँजिन पाउनुपर्छ भनेको हुँ,
तर आधुनिकताको खोल ओढेर
आफू माथिको खुल्ला भाग
मात्र पो आकाश हो, ठानेर
उसले गवार पाखे मान्दै होला
जस्तो सुकै माने पनि
त्यो काठमाडौंलाई सलाम छ
लुङ्गा ! नबिर्सी सुनाई दिनुहोला !!

झापा