संरक्षण नहुँदा चिल्लागढ ओझेलमा

4 years ago Editor 0

अनिलदेब राई
नेपाल, झापा (चिल्लागढ)
२९ जनवरी /

chhilla gadh pokhari....

ऐतिहासिक महत्व र धार्मिक तथा पर्यटकीय स्थल भएर पनि झापाको सतासीधाम–७, माईधार दक्षिणमा रहेको चिल्लागढ पोखरी यतिबेला ओझेलमा पर्दै गएको छ । सरकारी निकायको वेवास्ताका कारण ऐतिहासिक महत्व बोकेको धार्मिक एवम् पर्यटकीय स्थल चिल्लागढ पोखरी पछिल्लो समय ओझेलमा पर्दै गएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत माईधारदेखि ४ किलोमिटर दक्षिणमा रहेको चिल्लागढ पोखरीको उचित संरक्षण र सम्वद्र्धन गर्ने हो भने यो पोखरीे पूर्वकै एक गन्तव्य हुने स्थानीय बासिन्दाहरू बताउँछन् । चिल्लागढ पोखरीले विकास र व्यापकता पाउन सक्यो भने झापामा अर्को महत्वपूर्ण र आर्कषक गन्तव्यस्थल थपिने उनीहरुको दावी छ । चिल्लागढ पोखरीको लागि कसैले चासो र चिन्ता नदेखाउँदा स्थानीय वासिन्दा चिन्तित छन् ।

उचित संरक्षण, प्रवद्र्धन र आवश्यक पूर्वाधार निर्माण लगायतमा वेवास्ता गरिएकै कारण ऐतिहासिक महत्व बोकेको चिल्लागढ पोखरीको अस्तित्व दिनानुदिन लोप हुँदै जाने खतरा बढेको छ । स्थानीयमा यहि चिन्ता बढेका कारण उनीहरु यतिबेला  इतिहासलाई नामेट हुन नदिन सक्रियतापूर्वक लागेका छन् –चिल्लागढ पोखरीको मुहार परिवर्तन गर्ने अठोटका साथ ।

राजमार्गसँग जोडिएको सतासीधाम गाविसको चिल्लागढसम्म पुग्न दर्शनार्थीहरूलाई निजी सवारी वा पैदल यात्रा गर्नुपर्ने हुन्छ । यहाँसम्म आइपुग्नका लागि सडक भएर पनि सडकको संरचना कमजोर देखिन्छ । त्यस्तै सार्वजनिक यातायातको व्यवस्था हुन सकेको छैन । पर्यटक वा भक्तजनहरुले चिल्लागढसम्म पुग्नका लागि निजी सवारीको प्रवन्ध गरेर आए पनि सडक संरचनाको दुरुवास्थाका कारण असहज यात्रा गर्नुपर्ने स्थानीयको भनाई छ । उनीहरू भन्छन् –‘साँघुरो र कच्ची सडकमा सवारी चलाउन कठिन त छ नै वर्षायाममा त अझ गाडी नै फस्ने र आगन्तुकहरुलाई सास्ती हुने गरेको छ ।’

यो स्थानलाई हाल चिल्लागढ भनेर चिनिए पनि कुनै समय किल्लागढ भनेर चिनिने गरेको स्थानीय बताउँछन् । किल्ला अर्थात यज्ञ, गढ अर्थात कुण्ड । स्थानीयवासी समेत रहेका पोखरी नजिकै रहेको शिवालय मन्दिर व्यवस्थापन समितिका सह–सचिव तुलसी मिश्रका अनुसार यज्ञकुण्ड भनेको होमादी अर्थात पूजा आरधना गर्ने स्थानलाई यज्ञकुण्ड भन्ने गरिन्थ्यो । मिश्र भन्छन –‘अहिले पनि पोखरीको आसपास वेल र कुश उम्रने गरेका छन् । यी दुवै धार्मिक दृष्टिकोणमा अत्यन्तै आवश्यक र लाभदायक रहेको पनि मिश्रको तर्क छ । मिश्रले भने –‘२०२७ सालसम्म यस क्षेत्रमा अत्यन्तै घनाजङ्गल रहेको थियो तर आवादी बढेसँगै मान्छेको जनघनत्व बढेसँगै जङ्गल क्रमशः अतिक्रमित हँदै गएर अहिले पोखरी मात्रै बाँकी छ ।’

मिश्र जस्तै सतासीधाम–७ निवासी किरात धर्म समाज सुधारक खडकबहादुर लिम्बूको पनि चिल्लागढका बारे आफ्नै तर्क छ । उनको भनाईमा पाँच पाण्डवहरू विभिन्न क्षेत्र भ्रमण गर्ने र रमाइलो गर्ने क्रममा उनिहरूले यस पोखरी निर्माण गरेका हुन् । उनीहरूले धेरै गाईपालेका थिए । ती गाईहरूको हेरचारमा कुनै किसिमको समस्या नहोस् भनेर पिउने पानीको उचित प्रवन्धका लागि पोखरी निर्माण गरिएको र जङ्गली जीव–जनवारहरूले क्षति नपुराउन् भनेर वरिपरि अग्लो माटोको ढिस्को निर्माण गरेको हुन सक्ने लिम्बूको तर्क छ ।

यता चिल्लागढ व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर कटुवालले चिल्लागढ पोखरीको अस्तित्व जोखिममा पर्दै जानुमा कन्काई नदीको कटान मुख्य समस्याका रुपमा देखिएको बताए । उनले कन्काई नदी जनताको तटबन्ध अन्तर्गत बन्दै आएको बाँधले चिल्लागढ पोखरीलाई सुरक्षित गर्ने भएकोले सो कार्यलाई निरन्तरता दिँदै जानु पर्ने जिकिर गरे । पोखरीको पानी घट्दै जाने र हिउँदमा पूर्णरुपले पानी सुक्ने भएकोले समितिले यसलाई गम्भिर रुपमा लिइएको पनि समितिका अध्यक्ष कटुवालले जनाए ।

उनले पछिल्लो समय पोखरीलाई सतासीधाम गाविस कार्यालय र स्थानीय सहयोगी दाताहरूको आर्थिक सहयोगमा व्यवस्थित गर्दै स्वच्छ–सफा गरिएपछि पोखरीमा पानी घट्ने क्रम रोकिएको जिकिर गरे । १४ कठ्ठा ५ धुर क्षेत्रफलमा फैलिएको सो पोखरीको गहिराई ६० फिट रहेको छ भने पानीको सतह १५ देखि २२ फिटसम्म हुन सक्ने अनुमान गरिएको छ । पोखरीमा विभिन्न प्रजातिका फूलहरू ढकमक्क फूल्दा त्यहाँ पुग्ने जो कसैको मन रमाउँछ । विशेषगरी हिउँदयाममा ढकमक्क फुल्ने फद्दलहरूले एकातिर पोखरीको सौन्दर्यमा थप निखार थपेको छ भने अर्कातिर फूलले झाँगिदै जाँदा पोखरीको सतह पुरिँदै आएको स्थानीयको भनाई छ ।

खासगरी चिल्लागढ पोखरीमा चैते दशैं (रामनवमी) का दिन विशेष मेला लाग्ने गरेको समितिले जनाएको छ । चिल्लागढ पोखरीको गुरु योजना निर्माणका लागि पोखरीसँग जानकार नारदमणि न्यौपानेको संयोजकत्वमा एक समिति गठन गरिएको समितिका अध्यक्ष कटुवालले बताए । उनले थपे –‘पूर्वकै नमूना धार्मिक तथा पर्यटकीय स्थलका रुपमा यसलाई विकास गर्ने धेयका साथ लागेका छौं, किनकि यसको विविध महत्वका कारण गतिलो सम्भावना छ ।’