मौरीबाट मनमोहक आम्दानी

5 years ago Editor 0

डिकेश लामा
२३ जनवरी /

beekeeping

मौरीपालन गरेर पाँचथरको दक्षिणी आधा दर्जन गाविसका कृषकहरूले मनग्ये आम्दानी गर्दै आएका छन् ।

मौरीपालनबाट ५ गाविसका ३२ कृषकले मासिक रुपमा १० देखि १२ लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।

पाँचथर जिल्लाको साराङ्गडाँडा, हाङ्गुम, ओलने, रवि, आङ्ना लगायतका कृषकहरू संगठित भई मौरीपालनमा लागेपछि गाउँमै बसेर यसरी आम्दानी गर्न थालेको बाबरी मौरीपालन सहकारी संस्था लिमिटेडका व्यवस्थापक भीम आङ्देम्बे लिम्बूले बताए ।

१४ वर्षअघि २ घार मौरी पालेर शुरु गरेका बाबरी मौरीपालन संस्था लिमिटेडका वर्तमान व्यवस्थापक लिम्बूले अहिले दुई सय ७० घार मौरीको हेरचाह र व्यवस्थापन गर्ने गरेका छन् । २०५६ सालदेखि मौरीपालन समूहमा आवद्ध भएका पाँच गाविसका ३२ जना कृषकहरूले २०६५ सालदेखि समूहलाई सहकारीका रुपमा दर्ता गरेका हुन ।

प्रतिमहिना नौ हजारका दरले तलब दिएर अहिले दुई जना कर्मचारी पनि समूहले राखेको छ । सेरेना जात स्थानीय मौरी र मेलिफेरा युरोपियन जातको मौरीबाट क्रमशः वर्षमा ८ र १२ पटक मह काड्ने गरिन्छ भने एक घार बराबर क्रमशः २ र ६ केजी मह निकाल्ने गरेको संस्थाका अध्यक्ष लिलाराज कुरुम्बाङ्गले बताए ।

महको माग बढ्न थालेपछि अहिले संस्थाले लेटाङ्ग, शनिश्चरे, विर्तामोड, दमक, इलाम लगायतका क्षेत्रमा सम्पर्क कार्यालय खोली मौरी तथा मह बिक्री, तालीम र परामर्श शुरु गरेको व्यवस्थापक लिम्बूले जानकारी दिए ।

हाल संस्थाले अन्य कृषकको मह र संस्थाको गरी १० देखि १५ क्वीन्टल मह बिक्री गर्ने गरेको छ । संस्थाले उच्च पहाडी जिल्लाको मह आठ सय र तराईको मौरीको मह पाँच सय ५० रुपैयाँ प्रतिकेजी बिक्री गर्दै आएको बताइएको छ ।

बाबरी मौरीपालनका कृषकले हाल महिनामा एक जना बराबर ३५ देखि ४० हजार आम्दानी हुने गरेको बताएका छन् । पछिल्लो समय संस्थाले मनग्ये आम्दानी गरेपछि संस्थाबाट मौरीको घार किन्ने कृषकहरू पनि बढेको बताइएको छ । एक घार मौरी संस्थाले पाँचदेखि छ हजार रुपैयाँमा जात अनुसार मूल्य तोकेर बिक्री गर्ने गरेको संस्थाका सचीव बविन सम्बाहाम्फेले बताए ।

– पाँचथरको रविबाट