निर्माणाधीन खानेपानी आयोजनाको म्याद थपियो

5 years ago Editor 0

नेपाल, दमक
२३ जनवरी /

 

 दमक क्षेत्रमा खानेपानी विस्तारका लागि पाइप बिछ्याउने कार्यमा व्यस्त कामदारहरु ।

दमक क्षेत्रमा खानेपानी विस्तारका लागि पाइप बिछ्याउने कार्यमा व्यस्त कामदारहरु ।

झापाको दमकमा निर्माणाधीन दोस्रो साना शहरी खानेपानी आयोजनाको निर्माणका लागि समयावधि थपिएको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि दमकमा निर्माणाधीन खानेपानीको काम थपिएको हो ।

हालै माघ ४ गते निर्माणाधीन सो खानेपानी आयोजनाको म्याद सकिए पनि निर्माण कार्य सम्पन्न हुन नसकेकाले थप ८४ दिनका लागि म्याद थपिएको दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएको छ ।

२०६८ साल माघमा शुरु भएको दोस्रो साना शहरी खानेपानी आयोजना अन्तर्गत टानटिङ पुन्डिकु कन्स्ट्रक्सनले दुई वर्षभित्र निर्माण कार्य पूरा गर्न सम्झौता गरेको भए पनि देशकै ठूलो मानिएको यो आयोजना विभिन्न समयमा बन्द, हडतालका कारण समयमै सम्पन्न गर्न नसकेको भन्दै निर्माण कम्पनीले म्याद थप गर्न आग्रह गरेको जनाइएको छ । निर्माण कम्पनीको आग्रह पछि दमक खानेपानी तथा उपभोक्ता संस्थाले म्याद थप गराउन विभागीय पत्राचार गरेको जनाइएको छ ।

संस्थाका अध्यक्ष पशुपतिराज गौतमले माघ महिना भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकोमा ठेकेदार पक्षको ढिलाइका कारण आयोजना पूरा हुन नसकेको जानकारी दिए ।

खानेपानी बिभागको आग्रहमा समय थप गरिएको जिकिर गर्दै अध्यक्ष गौतमले भने –‘निर्माणाधीन आयोजनालाई छिटो भन्दा छिटो सम्पन्न गरेर धेरै भन्दा धेरै नगरवासीलाई खानेपानी सुविधा पु¥याउनका लागि हामीले उपभोक्ताका तर्फबाट निरन्तर दवाव दिँदै आएका छौं ।’

२७ करोड २८ लाख रुपैयँको लागतमा दमक नगर क्षेत्रमा खानेपानी विस्तारका लागि निर्माणाधीन दमक १ र १५ को पानी ट्याङ्की सहति पाइप विस्तार लगायतका कार्य ६५ प्रतिशत मात्र सम्पन्न भएको संस्थाको भनाई छ । हालै थपिएको ८४ दिनको समयावधिमा निर्माण पक्षले बाँकी रहेको ३५ प्रतिशत कार्य सम्पन्न गर्नुपर्ने देखिएको छ ।

दमक नगर क्षेत्रका बासिन्दालाई सुलभ ढङ्गले खानेपानी आपूर्ति गराउन दोस्रो साना शहरी खानेपानी आयोजनाको निर्माण कार्य चालु रहेको संस्थाका व्यवस्थापक कृष्ण थापाको भनार्य छ । ती योजनाहरु सञ्चालनमा आए दमकका थप ७५ सय वटा नयाँ धारा सञ्चालनमा ल्याउन सकिने थापाको भनाई छ ।

दमकको खानेपानीको व्यवस्थापनलाई आगामी १५ वर्षसम्म सुलभ बनाउने लक्ष्यका साथ निर्माणाधीन यस आयोजनाका माध्यमबाट नगरका ८ हजार घरधुरीलाई स्वच्छ पानी आपूर्ति गर्ने समेत उद्देश्य राखिएको छ ।
त्यस्तै उत्तरी दमकको भूटानी शरणार्थी शिविर र आसपासका क्षेत्रमा शरणार्थी दातृ निकायहरुको आर्थिक सहयोगमा बेग्लै योजना मार्फत स्थानीयलाई पानी उपलब्ध गराइएको छ ।

 

दैनिक माग २५ लाख लिटर

दमक क्षेत्रमा दैनिक २५ लाख लिटर खानेपानीको माग रहेको छ । दमक खानेपानी संस्थाले दिएको जानकारी अनुसार बढ्दो शहरीकरणसँगै खानेपानीको माग बढेर गएको हो ।

दमकका हाल ३८ सय वटा धारा जडान भई खानेपानी वितरण भइरहेको भए पनि उपभोक्ताको मागका तुलनामा यो अपूर्ति निक्कै अपुग भएको संस्थाको भनाई छ ।

बिगतदेखि दमक– ११ मा रहेको खानेपानी ट्याङ्कीका माध्यमबाट दमक– १०, ११, १२, १३, १४ र १ नम्बर वडाका अधिकांश घरहरुमा धारा जडान भई आनेपानी वितरण हुँदै आएको छ ।

दमकमा वर्षेनी पाँच सयका हाराहारीमा नयाँ घर निर्माण हुन थालेपछि यस क्षेत्रमा खानेपानीको समस्याका बढ्दै गएको छ । संस्थाले निर्माणाधीन आयोजनाको सम्पन्नतासँगै खानेपानी विस्तारको सोच राखेर नयाँ धारा जडानका लागि आवेदन खुला गरेको जनाएको छ ।

निर्माणाधीन नयाँ योजना सम्पन्न भएपछि नगरको बजार र अन्य क्षेत्रका उपभोक्ता खानेपानी सुविधाबाट लाभान्वित हुने संस्थाले जनाएको छ ।