‘दोस्रो संविधानसभा’ पहिलो बैठक औपचारिकतामै सीमित

4 years ago Editor 0

नेपाल, काठमाडौं
२२ जनवरी /

 

nepal_ca2

कुनै विशिष्ट निर्णय सहित नेपाली जनताले अपेक्षा गरे भन्दा खल्लो गरी दोस्रो संविधानसभाको पहिलो बैठक औपचारिकताका लागि मात्रै बसेर समापन भएको छ । पहिलो बैठक करिब १७ मिनेटमात्र चलेको थियो ।

अन्तरिम चुनावी परिषद्का अध्यक्ष खिलराज रेग्मीले मन्त्रिपरिषद् अध्यक्ष तथा सरकार प्रमुखका रुपमा अन्तरिम संविधानको धारा ६९ (१) अनुसार गरेको आह्वानमा बुधबार ३ बजे बैठक बस्ने तय भएको थियो ।

तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् संविधानसभाका जेष्ठ सदस्य सूर्यबहादुर थापा निर्धारीत समय भन्दा १० मिनेट ढिलो गरी ३ः१० मा सभाकक्षमा प्रवेश गर्दै सभाअध्यक्षको आसनमा बसेका थिए ।
अध्यक्ष थापाले आसनग्रहण गरे लगतै दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान सहितका केही सदस्यहरुले बैठक शुरु नहुँदै समय माग गरेका थिए ।

सचिवालयले यसअघि तयार पारेको कार्यसूची अनुसार थापाले सरकारका अध्यक्ष खिलराज रेग्मीले संविधानसभा बैठक आव्हान गर्न जारी गरेको पत्र वाचन गरेका थिए ।

अध्यक्ष थापाले नवनिर्वाचित सभासद्हरुलाई स्वागत गर्दै यो संविधानसभा र यसका सदस्यहरुको कार्यकाल हर दृष्टिकोणले ऐतिहासिक बन्ने दाबी गरेका थिए । उनले संविधान बन्न नसके इतिहास र वर्तमान समाजमा असफल र गैर जिम्मेवारमा दर्ता हुने जिकिर गरे ।

नेतृत्ववर्गमा राष्ट्रिय सोच राख्ने निर्णय लिने क्षमता ह्रास हुँदै गएको भन्दै थापाले भने –‘यी सबै कुराले लोकतन्त्रमाथि नै अपरोक्ष रुपमा नकारात्मक प्रभाव पारीराखेको छ ।’

आफ्नो स्वागत भाषण पश्चात अध्यक्ष थापाले संविधानसभा अध्यक्षको अनुपस्थितीमा सदनको बैठक सञ्चालन गर्न अध्यक्ष मण्डलको नाम पढेर सुनाएका थिए ।
त्यसैगरी अध्यक्ष थापाले संविधानसभा अदालतले हालै गरेको अन्तरिम आदेश अनुसार सप्तरी २ बाट निर्वाचित

एमाओवादी सभासद् अशोककुमार मण्डललाई अर्काे फैसला नभएसम्म संविधानसभाको बैठकमा सहभागी नगराउने निर्णय पढेर सुनाएका थिए ।

संविधानसभाको अर्को बैठक माघ १५ गते बस्नेछ।