महिला फूटबलको उपाधि पुलिसको पोल्टामा

4 years ago Editor 0

राम योङ्हाङ
नेपाल, इलाम
२१ जनवरी /

 

जितपछि उपाधि सहित खुशियाली बनाउँदै पुलिस टिम ।
जितपछि उपाधि सहित खुशियाली बनाउँदै पुलिस टिम ।

 

इलाममा सम्पन्न ‘प्रथम लुम्बिनी राष्ट्रिय महिला फुटबल च्याम्पियनसीप–२०७०’ को उपाधि नेपाल पुलिस क्लव महिला टिमको पोल्टामा पुगेको छ । मंगलबार भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मीलाई २–१ को झिनो अन्तरले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो ।

पुलिसलाई उपाधि दिलाउने क्रममा स्ट्राईकर निरु थापा र कप्तान चन्द्रा भण्डारीले १–१ गोलको योगदान गरेका थिए । खेलको १४ औं मिनेटमा नै पुलिसकी निरु थापाले गोल गरी टिमलाई अग्रता दिलाइन् । आर्मीकी गोल रक्षक लीला लाम्गादे अगाडि बढेको मौकामा थापाले गरेको प्रहारले जाली चुमेपछि पुलिसले अग्रता लिएको थियो । त्यस्तै ३७ औं मिनेटमा पुनः पुलिसकै कप्तान चन्द्रा भण्डारीले गोल गरी टिमको जित सुनिश्चित गरिन् ।
उता आर्मीका लागि भने आत्माघातीको उपहार प्राप्त भएको थियो । पहिलो हाफको इन्जुरी समयमा पुलिसकी डिफेन्स सान्ता राईले गोल रक्षकलाई पास दिने क्रममा आत्माघाती गोल भएको थियो ।

यसअघि एउटै समूह ‘क’ मा रहेका यी दुई टिमबीच लिग चरणमा समेत भेट भएको थियो । लिगमा पुलिसले आर्मीलाई २–० अन्तरले पराजित गरेको थियो ।

जितसँगै पुलिसले नगद दुई लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता आर्मीले नगद एक लाख रुपौयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै प्रतियोगिताको उत्कृष्ठ पाँचै उपाधि विजेता टिम पुलिसले पाएको छ । उत्कृष्ठ गोलकिपर पुलिसकी नमिता दली, डिफेन्स अमृता जैसी, मिडफिल्डर यसोदा लामा, फर्वड निरु थापा र प्रशिक्षक सन्देश श्रेष्ठ घोषित भए । उनीहरुले नगद २५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता तथा उपविजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले पुरस्कार प्रदान गरेका थिए ।

गत २८ पुसदेखि सञ्चालित प्रतियोगितामा तीन विभागीय टिम सहित पाँच विकास क्षेत्रका गरी ८ महिला टिमको सहभागिता रहेको थियो । अखिल नेपाल फूटबल संघ (एन्फा) को आयोजना र राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगिता अन्र्तगत ३ माघसम्म लिग चरण र ४ देखि नकआउट चरणको खेल शुरु भएको थियो ।

झडपमा सुरक्षकर्मी सहित ५ घाईते

फाइनल समापनपछि अचानक भएको हुलहुज्जतमा घाईत भएकी नेपाल पुलिसकी खेलाडी अमृता जैसी इलाम अस्पतालमा उपचार गराउँदै ।
फाइनल समापनपछि अचानक भएको हुलहुज्जतमा घाईत भएकी नेपाल पुलिसकी खेलाडी अमृता जैसी इलाम अस्पतालमा उपचार गराउँदै ।

यसैबीच इलाममा सम्पन्न ‘प्रथम लुम्बिनी राष्ट्रिय महिला फुटबल च्याम्पियनसीप–२०७०’ को फाईन खेल सम्पन्न भएपछि विजयी टिम नेपाल पुलिसले खुसीयाली मनाईरहेको बेला दर्शकबाट ढुङ्गा प्रहार भएपछि भएको झडपमा तीन सुरक्षकर्मी सहित पाँच घाईते भएका छन् । घाईतेमध्ये एकको अवस्था गम्भीर छ ।

दर्शकले प्रहार गरेको ढुङ्गाले लागेर नेपाल पुलिसकी खेलाडी अमृता जैसी घाईते भएकी छिन् । टाउकोमा चोट लागेको जैसीको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ ।

झडपलाई नियन्त्रण गर्ने क्रममा प्रहरी हवल्दार हरी चौंलागाई, सशस्त्र प्रहरीका प्रहरी नायव निरीक्षक टेकमणि थनेट र जवान मनराज कट्वाल घाईते भएका हुन् । जसमध्ये चौलागार्इंको टाउको, पेट र हातमा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिएका छन् ।

त्यस्तै सशस्त्रका प्रनानि थनेट र कट्वालको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको टाउको र खुट्टामा चोट लागेको छ । यसैगरी भागदौडका क्रममा दर्शक सन्तोष राई समेत घाईते भएका छन् । उनको डाक्टर मेघबहादुर पारजुली सामुदायिक अस्पताल इलाममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।