स्वदेश फिर्ति अधिकारका लागि ज्ञापनपत्र

5 years ago Editor 0

नेपाल, बेलडाँगी
२१ जनवरी /
भूटानी शरणार्थीहरुको स्वदेश फिर्न पाउने मानव अधिकारको हनन भएको बारे झक्झक्याउन विभिन्न १० राष्ट्रलाई ज्ञापनपत्र पठाइएको छ ।

भूटान मानव अधिकार संगठनले इमेलमार्फत भूटानी शरणार्थीहरुको स्वदेश फिर्ति अधिकारका बारे स्मरण गराउँदै अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, नर्वे, नेदरल्याण्ड, क्यानाडा, स्वीजरल्याण्ड, न्यूजिल्याण्ड, डेनमार्क लगायत मानव अधिकारजन्य अन्य एजेन्सीहरुलाई समेत ज्ञापनपत्र पठाएको हो । ज्ञापनपत्र पठाइएका मध्ये जापान र स्वीजरल्याण्ड बाहेकका राष्ट्रले भने भूटानी शरणार्थीहरुलाई तेस्रो मुलुक पुनर्वास कार्यक्रमको सुविधा दिएर आफ्नो मुलुकमा उडाउँदै आएका छन् ।

केही समयअघि पठाइएको ज्ञापन पत्रमा भूटानी शरणार्थीहरुको तेस्रो मुलुक पुनर्वास प्रक्रियाले मानव अधिकारको संरक्षण नभई मानवीय सहयोग मात्र भएको र स्वदेश फिर्तिका लागि २२ वर्षदेखि शिविरहरुमा बस्दै आएका नेपालीभाषी भूटानी शरणार्थीहरुको अधिकार प्राप्ति नभई हनन भएको बताइएको छ ।

संगठनका अध्यक्ष एसबी सुब्बाले हस्ताक्षर गरेको पत्रमा गएको डिसेम्बर महिनाको ११ र १२ तारिखमा भूटानको थिम्पुमा भएको गोलमेच बैठकले सहयोगी राष्ट्र र एजेन्सीबीचमा भूटानी शरणार्थीको समस्याका विषयमा कुरा उठाउन पहल कदमी चाले पनि सो हुन नसकेको निष्कर्ष निकालिएको छ ।

विभिन्न सहयोगी राष्ट्रहरुले नेपालमा रहेका शणार्थीहको समस्याका विषयमा गम्भीरताका साथ कार्य गर्दै आएको नेपालस्थित अमेरिकी दूतावासले दावी गर्दै आएको छ भने यस विषयमा संगठनका अध्यक्ष सुब्बालाई पत्र समेत आएको बताइएको छ ।

शरणार्थी समस्या समाधानका लागि शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) ले सन् २००७ मा ल्याएको ३ विकल्प मध्ये पूनर्वास प्रक्रिया मात्र सञ्चालन गरिनुले स्वदेश फिर्ति अधिकारको हनन भएको मानव अधिकार सम्बन्धी शरणार्थी अगुवाहरुले जिकिर गर्दै आएका छन् ।