बल्ल लिन पाए सभासद्ले सपथ

4 years ago Editor 0

नेपाल, काठमाडौं
२१ जनवरी /

 

main news photo

दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भएको दुई महिना बढी समय व्यतित भइसकेपछि बल्ल निर्वाचित संविधानसभा सदस्यहरुले मंगलबार सपथ लिन पाएका छन् ।

राजनीतिक दलहरुका बीचमा विभिन्न राजनीतिक मुद्दाहरुमा लामो समय चलेको अनिर्णित र अनावश्यक वहस र छलफलले अनि दलहरु भित्रै समानुपातिक सूची तयार गर्ने विषयमा उत्पन्न भएको सकसता समेतले समय खाएकाले गत मंसिर ४ गते दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भएको भए पनि माघ ७ गते मंगलबार बल्ल संविधानसभा सदस्यहरुले सपथ लिन पाएका हुन् ।

नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा संविधानसभामा सदस्य बनेका मध्येकै ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले नवनिर्वाचित सभासद्लाई सपथ खुवाएका हुन् । थापाले भने राष्ट्रपति रामवरण यादवबाट सोमबार नै सपथ लिएका थिए ।

सरकारले मनोनीत गर्न बाँकी २६ जनाबिनै प्रत्यक्ष र समानुपातिकतर्फका पाँच सय ७५ मध्ये ५ सय ६६ सभासद्लाई मंगलबार सपथ खुवाइएको हो । संसद् सचिवालयका सहसचिव मुकुन्दप्रसाद शर्माका अनुसार सपथ कार्यक्रममा कांग्रेसका नारायण खड्का, प्रदीप गिरी र सुवर्ण ज्वारचन, एमालेका वंशीधर मिश्र, मधेसी जनअधिकार फोरम नेपालका अभिषेकप्रताप शाह सहित पाँच जना सभासद् अनुपस्थित थिए ।

८० प्रतिशतभन्दा बढी नयाँ अनुहारको बाहुल्यता रहेको दोस्रो संविधानसभामा सपथका लिन नवनिर्वाचित सभासद्हरुमा बेग्लै उत्साह र उमङ्ग देखिन्थ्यो ।

संविधानसभामा एमाओवादी र मधेसी तथा केही साना पार्टी बाहेक कांग्रेस, एमाले, राप्रपा नेपाल, राप्रपा लगायत दलका सभासद् दौरा सुरुवाल तथा साडी चोलोमा देखिए । एमाओवादी र मधेसी दलका सभासद्को पोशाकमा एकरुपता थिएन ।

संसद् सचिवालयका सहसचिव शर्माका अनुसार ४४ जना सभासद्ले मातृभाषामा सपथ लिएका छन् । तीमध्ये मैथलीमा १३, हिन्दीमा ११, अवधीमा ५, गुरुङ र लिम्बूमा २–२ तथा थारु, भोजपुरी, मधेसी, किरातीमा १–१ जना सभासद्ले सपथ लिए । सभासद्लाई सपथको भाषा नेपाली नै हुनुपर्छ भन्ने बाध्यता छैन ।

सभासद् सपथको कार्यक्रम बिहान ११ बजेका लागि तोकिए पनि मध्यान्ह १२ बजेमात्रै सपथ शुरु भएको थियो । संविधानसभाको पहिलो बैठक भने आज बुधबारदेखि मात्रै शुरु हुनेछ ।

पत्रकारको एक्लो प्रतिनिधित्व

highlight photo

यसैबीच समानुपातिकमा सूचीवद्ध पत्रकारको भीडमा पूर्वी नेपालको पहाडी जिल्ला धनकुटाकी पत्रकार महिलाले संविधानसभामा आफ्नो स्थान सुरक्षित गरेकी छिन् ।

धनकुटाकी श्रमजीवि पत्रकार अञ्जना ताम्ली त्यस्ती भाग्यमानी बनिन्, जसले पत्रकारको एक्लो प्रतिनिधित्व गर्ने सौभाग्य पाएकी छिन् । उनी अल्पसंख्यक याक्खा जातिबाट संविधानसभामा प्रतिनिधित्व गर्ने प्रथम महिला समेत हुन् ।

करिब डेढ दशक सक्रिय पत्रकारिता गर्दै आएकी ताम्लीको नाम कांग्रेसको समानुपातिक सूचिमा समावेश थियो । महिला तथा अल्पसंख्यक जनजातिको कोटामा उनको नाम पार्टीले समावेश गरेको थियो । समानुपातिक सदस्य चयन गर्ने अन्तिम दिनको अन्तिम क्षणसम्म मनोनीत हुनेमा थोरै मात्र विश्वास लिएकी ताम्ली अन्ततः सदस्यको मनोनयनमा परिन् । उनले समग्र पत्रकारको प्रतिनिधित्व भएको कुरा सपथ ग्रहण गर्ने दिन मात्र जानकारी पाइन् ।

‘पत्रकारका रुपमा अन्य स्थापित दाजु–दिदीहरु पनि समावेश हुनु भएको भए अझ खुशी मिल्ने थियो’, उनले भनिन् । सञ्चारक्षेत्रको लागि आवश्यक नीति निर्माणमा सक्दो आवाज उठाउने उनले बताइन् ।

ताम्लीले १० वर्ष गोरखापत्र दैनिक, नेपाल वान र एभी न्यूजमा ५ वर्ष तथा आफ्नै लगानीमा धनकुटाबाट प्रकाशित द धनकुटा हेराल्ड साप्ताहिकको कार्यकारी सम्पादकको रुपमा सक्रिय पत्रकारिता गरेकी छिन् ।

यस्तै प्रेस युनियन पूर्वाञ्चल सदस्य, कांग्रेस महाधिवेशन प्रतिनिधि हुँदै १२ औं महाधिवेशनमा महासमिति सदस्यमा फड्को मारेकी उनी नेपाल महिला संघ जिल्ला सदस्य रहेकी छिन् ।