4 years ago Editor 0

नेपाल, दमक
२० जनवरी /

 

IMG_0627

 

भूटानी शरणार्थी रेखदेखका निम्ति कार्यरत शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च ओयोग (यूएनएचसिआर) को शाखा कार्यालय दमकका लागि जापानी मूलका सिन्जी कुबा प्रमुख नियुक्त भएर आएका छन् ।

कुबोले सोमबारदेखि आफ्नो कार्यभार सम्हालेको यूएनएचसिआर कार्यालय दमकले जनाएको छ । कुबाले कार्यभार सम्हालेको बारे जनाऊ दिँदै सहायक बाह्य सम्पर्क अधिकृत निनी गुरुङले विज्ञप्ति जारी गरेकी छन् ।

सन् १९९३ देखि यूएनएचसिआरमा आवद्ध रहेका कुबोले नेपाल आउनु अघि  इरान, श्रीलंका, मलेसिया, इन्डोनेसिया लगायत २० वटा भन्दा बढी मुलुकहरुमा शरणार्थी सम्बन्धी कार्यगरेका बताइएको छ ।

नेपाल आउनु अगाडि यूएनएचसिआर जापानको टोकियोस्थित कार्यालयमा वरिष्ठ बाह्य सम्बन्ध अधिकृतका रुपमा कार्यरत कुबो कानूनमा स्नातोकोत्तर हुन् । कुबोले यूएनएचसिआरको दमक टोलीको नेतृत्व गर्नेछन् ।

दमक कार्यालयको प्रमुखका रुपमा जिम्मेवारी सम्हाल्दै कुबोले भनेका छन् –‘मलाई नेपाल आएर काम गर्न पाउँदा निकै खुशी लागेको छ र यहाँ काम गर्न उत्साहित छु ।’

८६ हजार भूटानी शरणार्थी तेस्रो मुलुकमा

यसैबीच यूएनएचसिआरको तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्र्तगत ८६ हजार भन्दा बढी भूटानी शरणार्थी अमेरिका लगायतका देशहरुमा पुनर्वास भइसकेको युएनएचसिआर दमक कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार तेस्रो मुलुक पुनर्वासको विकल्प रोजेर विदेशिन इच्छुक अन्य करिब २३ हजार भूटानी शरणार्थीले समेत इच्छा जहेरी दिएको बताइएको छ ।

एक लाख आठ हजार जनसंख्या रहेको भूटानी शरणार्थीका समस्या समाधानका लागि भनेर संयुक्त राष्ट्रसंघले शुरुवातमा सम्मानजनक स्वदेशफिर्ति, स्थानीय स्तरमै सम्मिलन र तेस्रो मुलुक पुनर्वास गरी तीन ओटा विकल्प अघि सारेको थियो ।

ती मध्ये स्वदेशफिर्ति र स्थानीय स्तरमा सम्मिलनको विकल्प बारे आवश्यक कुटनीतिक पहल हुन नसक्दा सन् २००८ देखि लगातार रुपमा तेस्रो मुलुक पुनर्वास कार्यक्रम सुचारु चलिरहेको छ ।

हाल झापाको बेलडाँगी र मोरङको शनिश्चरेस्थित भूटानी शरणार्थी शिविरहरुमा करिब ३१ हजार संख्यामा भूटानी शरणार्थीहरु बसोबार गरिरहेका यूएनएचसिआर कार्यालयले जनाएको छ ।