संसद्को अधिवेशन माघ १२ गते बोलाउन सिफारिस

5 years ago Editor 0

नेपाल, काठमाडौं

१९ जनवरी /

 

CA building_20140111075513

 

सरकारले व्यवस्थापिका संसद्को अधिवेशन माघ १२ गते बोलाउन सिफारिस गरेको छ ।

मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले आइतबार शीतल निवासमा राष्ट्रपति रामवरण यादवसँग भेट गरी माघ १२ गते दिउँसो ३ बजे संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेका रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए ।

रेग्मीसँगै कानुन मन्त्री हरिप्रसाद न्यौपाने, मुख्यसचिव लीलामणि पौड्याल र कानुन सचिव भेषराज शर्मा पनि शीतल निवास गएका थिए । संविधानसभाको पहिलो बैठक भने माघ ८ गते मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले नै बोलाएका छन् ।

संविधानसभाको पहिलो बैठक प्रधानमन्त्रीले बोलाए पनि अन्तरिम संविधानको धारा ५१ (१) अनुसार संसद्को बैठक भने ‘प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बोलाउने’ उल्लेख छ । संसद्को बैठकका लागि प्रधानमन्त्री संविधानसभा सदस्य हुनुपर्ने प्रावधान छ ।

यसअघि आइतबार बिहान राष्ट्रपति रामवरण यादवले प्रमुख तीन दलका शीर्ष नेतालाई आफ्नै कार्यालयमा बोलाएर संसद् अधिवेशन डाक्ने बारे आवश्यक कुराकानी गरेका थिए । शनिबार नै राष्ट्रपति कार्यालयले नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई छलफलमा डाकेको थियो ।

भेटमा राष्ट्रपतिले २५ बुँदे बाधा अड्काउ मार्फत संविधानमा गरिएको संसोधनको अनुमोदन संसद्ले गर्नुपर्ने र सरकार निर्माणको काम अगाडि बढाएर राजनीतिक अन्यौललाई टुंग्याउनुपर्ने भएकाले संसद्को अधिवेसन यथासिघ्र बोलाउन शीर्ष नेताहरुको ध्यान आकर्षण गराएका थिए ।

संविधानसभाको पहिलो बैठकको तीन कार्यसूची

यसैबीच संविधानसभा सचिवालयले यहि माघ ८ गतेका लागि बोलाइएको संविधानसभाको पहिलो बैठकका लागि तीन कार्यसूची तयार पारेको छ ।

संविधानसभामा प्रतिनिधित्व गर्ने ३० राजनीतिक दलका प्रतिनिधिसँग सचिवालयले आइतबार गरेको परामर्श बैठकले पारित गरेको कार्यसूची अनुसार संविधानसभाको पहिलो बैठकमा मन्त्रिपरिषद्का अध्यक्षले पठाएको पत्र पढेर सुनाइने छ ।

यस्तै संविधानसभा सञ्चालनका लागि नयाँ नियमावली पारित नभइसकेका सन्दर्भमा संविधानसभा नियमावली २०६५ बमोजिम कार्यसञ्चालन गर्ने भन्ने प्रस्ताव प्रस्तुत गरिने कार्यसूची तय भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिएका छन् । यस्तै संविधानसभाको अध्यक्षको व्यवस्था नहुँदासम्म संविधानसभाका अध्यक्षले गर्नुपर्ने काम–कार्बाहीका लागि अन्य सभासद्को व्यवस्था गर्न आवश्यक प्रस्ताव पेस गरिने छ ।

संविधानसभा निर्वाचनमा नेपाली जनताले देखाएको उत्साहपूर्ण सहभागिताप्रति धन्यवाद व्यक्त गर्ने कार्यसूची समेत बैठकले पारित गरेको छ । बैठकमा अघिल्लो संविधानसभाले गरेका काम–कार्बाही सम्बन्धमा स्वामित्व लिने विषयमा छलफल भए पनि त्यस विषयमा कुनै निर्णय नभएको सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

अघिल्लो संविधानसभाले पारित गरेका धेरै विषय अग्रगामी छन् भन्दै धेरै राजनीतिक दलले बताए पनि त्यसो हुन नहुने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायत दलले सबै काम शून्यबाटै शुरु गर्नुपर्ने धारणा राखेका छन् ।