रोनाल्डो फिफा वर्ष खेलाडी घोषित

5 years ago Editor 0

एजेन्सीको सहयोगमा
१४ जनवरी /

 

Cristiano-Ronaldo

रियल मेड्रिड फुटबल क्लवका फरवर्ड खेलाडी क्रिस्टियानो रोनाल्डोले सन् २०१३ को फिफा वर्ष खेलाडी बनेका छन् ।

२८ वर्षीय रोनाल्डोले यसअघि लगातार चार पटकसम्म फिफा वर्ष खेलाडी बनेका अर्का चर्चित खेलाडी मेसीलाई १६० अङ्कले पछि पार्दै फिफा वर्ष खेलाडी चयन भएका हुन् ।

१,३६५ अङ्क सहित उपाधि विजेता बनेका रोनाल्डोले बार्सिलोना क्लवका लियोनल मेस्सी र बायर्न म्युनिखका फ्रैन्क रिबेरीलाई पछाडि धकेल्न सफल भएका हुन् । मेस्सीले १,२०५ र रिबेरीले १,१२७ अङ्क प्राप्त गरेका थिए ।

यसमा १८४ जना कोच, १८४ जना राष्ट्रिय कप्तान र विश्वभरका मिडियाका १७३ सदस्यले मत दिएका थिए । सन् २०१३ रोनाल्डोका लागि निकै शानदार वर्ष रहेको थियो । उनले ५६ म्याचमा ६६ गोल गरेका थिए ।

पुरस्कार घोषणापछि मञ्चमा बोल्दै रोनाल्डोले भने –‘सबैभन्दा पहिला म आफ्नो क्लव र राष्ट्रिय टिमका सबै साथीहरुलाई धन्यवाद दिन चाहन्छु । उनीहरु सबैको प्रयास बिना म यो स्थानसम्म पुग्न सक्दिनँ थिएँ । म निकै खुशी छु । यो पुरस्कार जित्नु ठूलो चुनौतिको कुरा हो ।’

सन् २०१३ का लागि जर्मनीका गोलकिपर नदीन आंगररले सर्वश्रेष्ठ महिला खेलाडीको पुरस्कार जितिन् भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका पूर्व अध्यक्ष जाक रोगलाई फिफा प्रेजिडेन्सियल अवार्ड प्रदान गरियो । अफगानिस्तान फुटबल संघलाई एउटा युद्धग्रस्त मुलुकमा खेललाई प्राथमिकता दिएकोमा फेयर प्ले पुरस्कारका लागि चुनिएको छ ।