इलाममा ‘प्रथम लुम्बिनी राष्ट्रिय महिला फुटबल’ शुरु

5 years ago Editor 0

नेपाल, इलाम
१२ जनवरी /

इलाम सदरमुकाममा पहिलो पटक ‘प्रथम लुम्बिनी राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप–२०७०’ आईतबारदेखि शुरु भएको छ ।

आईतबार भएको पहिलो उद्घाटन खेलमा पूर्वाञ्चल महिला टिमले सुदुरपश्चिमाथि २–१ को संघर्षपूर्ण जित हात पार्यो । जितसँगै उसले ३ अङ्क बटुल्न सफल भएको छ । पूर्वाञ्चललाई जित दिलाउने क्रममा कविता सुन्दास र सरु लिम्बूले गोल गरेका थिए ।

मध्यान्तर अघिसम्म १–० ले अगाडि रहेको सुदुरपश्चिम मध्यान्तरपछि रक्षात्मक समेत खेल्न नसकेपछि पराजीत भयो । खेलको १६ औं मिनेटमा नै सुदुरपश्चिमका मीना चौधरीले खेलको पहिलो गोल गरी टिमलाई अग्रता दिलाएका थिए । तर, मध्यान्तरपछि पूर्वाञ्चलले लगातार २ गोल गरेपछि शून्य अङ्कमै चित्त बुझाउन बाध्य भयो ।

मध्यान्तरपछि ४५ औं मिनेटमा पूर्वाञ्चलकी कविता सुन्दासले सानदार गोल गरी खेल बराबरीमा ल्याएकी थिइन् । मैदानको घरेलु मैदानको अवसर पाएको पूर्वाञ्चलले मध्यान्तरपछि खेल थप आक्रामक बनायो । उसले विपक्षीलाई निरन्तर दावावमा राख्न सफल भयो । दर्शकको हुटिङ्गले हौसिएको पूर्वाञ्चलले खेलको ८८ औं मिनेटमा पुनः दोस्रो गोल गर्दै विजेता बन्यो । मधु मुखियाको फ्रिकिकलाई सदुपयोग गर्दै सरु लिम्बूले गरेको प्रहारले जाली चुमाएपछि पूर्वाञ्चलका लागि ३ अङ्क निश्चित बनेको थियो ।

खेलको अन्त्यतिर सुदुरपश्चिम केही आक्रमक भए पनि उनीहरुको प्रयास सफल हुन सकेन । सुदरपश्चिमका प्रशिक्षक ललित चन्दले आफ्नो टिमका लागि खेलमैदान नौलो भएको र डिफेन्डरहरुको कमजोरीका कारण हार व्यहोर्नु परेको प्रतिक्रिया दिए । ‘टिममा फिटनेस नभएका कारण हाम्रा खेलाडीले राम्रो प्रदर्शन गर्न सकेन’, चन्दले भने –‘हामीले खासै तयारी गर्न पनि पाएनौं ।’ उनले अर्को खेलमा विभागीय टिम एपीएफसँग खेल्नुपर्ने भएकाले आफ्नो टोलिको प्रदर्शन सुधार हुने बताए ।

त्यस्तै आईतबार नै सम्पन्न दोस्रो खेलमा मध्यमश्चिमाञ्चललाई १३–० को फराकिलो अन्तरले हराउँदै सशस्त्र प्रहरी (एपीएफ) सानदार विजेता बन्यो । एपीएफले पनि सुरुवातमै ३ अङ्क बटुल्न सफल भयो ।
खेलको शुरुवातदेखि नै मध्यपश्चिमाञ्चललाई दवावमा राखेको एपिएफले मध्यान्तरअघि नै ५–० को अग्रता लिएको थियो । खेलको २९ औं मिनेटमा नै एपीएफका सजना रानाले पहिलो गोल गरी टिमलाई अग्रता दिलाईन् । लगत्तै ३२ औं मिनेटमा सजनाले नै अर्को गोल थपिन् । ३५ औं मिनेटमा सजनाले गोल थपी ह्याट्रिक समेत पूरा गरिन् । लगत्तै ३८ औं मिनेटमा लक्ष्मीकुमारी बुढाथोकी र ४१ औं मिनेटमा अनु लामाले गोल गरी एपीएफलाई ५–० को अग्रता दिलाएका थिए ।

मध्यान्तरपछि पनि खेल मैदानलाई पूर्ण रुपमा कब्जामा राख्न सफल एपीएफले गोलको वर्षा अझ बढाएको थियो । खेलअवधिभर एपीएफका तर्फबाट सजना रानाले ५, लक्ष्मीकुमारी पौडेल र अनु लामाले ३÷३ र रञ्जना दर्जीले १ गोल गरेका थिए । १ गोल भने आत्मघाती भएको थियो । विपक्षीको निरन्तर दवावमा परेको मध्यपश्चिमाञ्चलले रक्षात्मक समेत खेल्न सकेको थिएन ।

प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेल त्रिभुवन आर्मी र मध्यमाञ्चल तथा दोस्रो खेलमा नेपाल पुलिस र पश्चिमाञ्चल महिला टिमबीच हुनेछ ।

राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले एक लाख हात पार्नेछन् । यस्तै उत्कृष्ट गोल रक्षक, डिफेन्स, मिडफिल्डर, फरर्वड र एक कोच गरि पाँच जनाले जनही नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । स्थानीय आयोजकका रुपमा जिल्ला फूटबल संघ रहेको छ ।

यस्तै सोही प्रतियोगिताबाट करीब ३० उत्कृष्ट महिला फूटबलर राष्ट्रिय टीमको छनौट हुनेछन् । छनौटमा परेका महिला खेलाडीहरु पाकिस्तानमा हुने साफ महिला फूटबलमा सहभागी हुने च्याम्पियनसिपका संयोजक तथा अखिल नेपाल फूटबल संघका सहायक महासचिव मणि कुँवरले बताए । ‘दक्षिण एशियामा दोस्रो स्थानमा रहेको नेपाली महिला फूटबल टिमलाई अझ बलियो बनाउन इलाममा आयोजना भएको खेलले थप सहयोग गर्नेछ’, उनले भने ।

आगामी ७ माघसम्म सञ्चालन हुने च्याम्पियनसिपमा देशभरमा आठवटा राष्ट्रिय तथा विभागीय टिमले सहभागिता जनाएका छन् । आगामी ३ माघसम्म लिग चरण र ४ माघदेखि नकआउटका आधारमा खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विभिन्न चरणमा १५ म्याच हुने छन् ।

प्रतियोगिताको समूह ‘क’ मा एपीएफ, पूर्वाञ्चाल, सुदुरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल महिला टिम रहेका छन् । यस्तै समूह ‘ख’ मा नेपाल पुलिस, त्रिभुवन आर्मी गरी विभागीय दुई टिम तथा मध्याञ्चल र पश्चिमाञ्चल महिला टीम गरि चार–चार टीम रहेका छन् ।
करिब २७ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताका लागि २० लाख रुपैयाँ राष्ट्रिय खेलकुद परिषद र ७ लाख रुपैयाँ एन्फाले खर्च गर्नेछ । स्थानीय तहमा जुटेको सहयोग रकम भने जिल्ला फूटबल संघमै रहने बताइएको छ ।

इलाममा शुरु भएको यो प्रतियोगिता करिब तीन दशककै ठूलो हो । यसअघि इलाममा २०४३ सालमा अञ्चल स्तरीय ठूलो प्रतियोगिता भएको थियो । २७ वर्ष पछि आयोजना भएको प्रथम लुम्बिनी राष्ट्रिय महिला फुटवल च्याम्पियनसिपलाई स्थानीयले पनि विशेष महत्वका रुपमा लिएका छन् । प्रतियोगिताको उद्घाटन एन्फा उपाध्यक्ष किशोर राईले गरेका थिए ।