दक्षिणी झापामा जङ्गली हात्तीले आतङ्क

5 years ago Editor Comments Off on दक्षिणी झापामा जङ्गली हात्तीले आतङ्क

नेपाल, झापा
१२ जनवरी /

झापाको पृथ्वीनगर गाविसमा विगत केही दिन देखि एउटा जंगली हात्तीले उपद्रो मचाएका कारण स्थानीयवासीहरु रातैपच्छिे जाडोमा काम्दै हात्ती धपाउन बाध्य बनेका छन् । सम्बन्धित निकायले हात्ती नियन्त्रण गर्न विषयमा हालसम्म कुनै ठोस कदम नचाल्दा स्थानीयलाई सास्ती भएको छ ।

विशेष गरी उक्त जङ्गली हात्तीले साँझको समयमा आहार खोज्न गाउँघरमा पस्न थालेपछि आफनो सुरक्षा आफै गर्नका लागि पृथ्वीनगरवासी अहिले समूह बनाएर रातैभरी हात्ती धपाउने कार्यमा जुटिरहेको पृथ्वीनगर–६ बस्ने खडक लिम्बूले बताए । उनले केही दिन देखि दारा लामो भएको एउटा मात्र जङ्गली हात्तीले लाखौं मूल्य बराबरको भौतिक संरचना भत्काउनुका साथै अन्नबाली नष्ट गरिदिएको गुनासो पोखे ।

हात्तीको आतङ्क दिनप्रतिदिन बढ्दै गइरहेको सहन नसकेर गाउँलेहरु लाठ्ठी, पटका, आगो, भाला लिएर हात्तीको प्रतिकारका लागि जुट्नुपर्ने स्थिति सृजना भएको स्थानीय किङकङ राईले बताए । पृथ्वीनगरको वाड नम्बर ३, ५ र ६ मा अहिले उक्त हात्तीले उपद्रो मचाइरहेको बताउदै राईले भने –‘दिनभर नजिकैको जङ्गलमा बस्ने र साँझ परेपछि गाउँमा आउन भएकाले हामी रातभर हात्ती खद्ने काममै व्यस्त हुनु परेको छ ।’ वन कर्मचारी र प्रहरीहरुले केही दिन हात्ती धपाउन सहयोग गरेको भए पनि प्रत्येक रात हात्ती धपाउनुपर्ने कार्यबाट उनीहरु वाक्कदिक्क भएका र बोलाउँदा पनि आउन छाडेको स्थानीयको भनाई छ ।

पृथ्वीनगर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तिलक चौधरीका अनुसार विगत एक महिनादेखि हात्तीले पृथ्वीनगरमा आतङ्क मचाइरहेको छ । हात्तीले धान, केरा, जाँडरक्सी खानुका साथै दर्जनौं व्यक्तिहरुको घर तथा भान्सा घर भत्काई दिएको छ । हात्ती धपाउन प्रहरी जाने गरेको बताउँदै चौधरीले कहिलेसम्म धपाउने भन्ने कुरामा आफूहरु नै अन्यौलामा रहेको उनको भनाई छ ।

जिल्ला वन कार्यालय झापाका प्रमुख ओमनाथ भट्टराईले हात्ती नियन्त्रण गर्ने विषयमा आफूहरु अप्ठयारोमा परेको गुनासो पोखे । उनले भने –‘हात्ती आतङ्क पृथ्वीनगरमा मात्र नभएर अन्य गाविसमा पनि समस्याको विषय बन्दै गएको छ । यसका लागि माथिल्लो निकायबाट नै ठोस नीति बनेर आएमा मात्र काम गर्न सजिलो होला, अन्यथा हात्ती आए धपाउने बाहेक केही गर्न सकिन्न ।’ गाउँलेको सुरक्षाका लागि वन कर्मचारी जुन सुकै समयमा पुगेर सहयोग गर्न बताउँदै हात्तीले क्षति पुर्याएको तथ्याङ्क संकलन गरी यथासिघ्र क्षतिपूर्ति दिलाउन आफू लागि पर्ने भटटराईले बताए ।

पृथ्वीनगर क्षेत्रमा यस अघि जङ्गली हात्तीले एकै दिनमा तीन जनाको ज्यान लिएपछि हाल स्थानीयमा त्रास बढेको पाइएको छ ।